काठमाडौँ: हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको जनाएको छ। कम्पनीले यस अवधिमा ३९ करोड ८७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.४५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले २१ करोड ६१ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो उपलब्धिले नेपालमा इन्स्टा फाइनान्स क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।
आर्थिक वर्षभर कम्पनीको कर्जा लगानी पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। कम्पनीको कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले वृद्धि भएर १२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जसमा विशेषगरी सवारी साधन वित्तीयकरण (अटोमोबाइल फाइनान्सिङ) को महत्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ।
त्यसैगरी, निष्क्रिय कर्जा (एनपीएल) अनुपात ३.४० प्रतिशतबाट घटेर १.८७ प्रतिशतमा झरेको छ, जसले कम्पनीको प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्जा असुली प्रणालीलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ।
कम्पनीको समग्र वित्तीय अवस्था पनि थप सुदृढ बनेको छ। कुल सम्पत्ति रु. ८ अर्ब ४३ करोड बाट बढेर रु. १२ अर्ब ६४ करोड पुगेको छ भने कुल स्वपुँजी (इक्विटी) रु. १ अर्ब ४९ करोड बाट बढेर रु. १ अर्ब ८९ करोड पुगेको छ। यस अवधिमा शुद्ध ब्याज आम्दानी रु. २२ करोड १० लाख बाट बढेर रु. ४८ करोड ४६ लाख ५० हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो। त्यस्तै, सञ्चालन नाफा पनि रु. ३३ करोड ५२ लाख ८० हजार बाट बढेर रु. ६१ करोड ४६ लाख ८० हजार पुगेको छ।
प्रमुख वित्तीय सूचकहरूमा पनि कम्पनीले उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ। वार्षिकीकृत स्वपुँजी प्रतिफल १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत र वार्षिकीकृत आधारभूत प्रतिशेयर आम्दानी रु. २६.०४ बाट बढेर रु. ४८.०४ पुगेको छ। कम्पनीको कोषको लागत ६.४० प्रतिशतबाट घटेर ५.७७ प्रतिशतमा झरेको छ। ब्याजदर अन्तर १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ भने कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिएको प्रावधानको कभरेज ९२.३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।


