काठमाडौं। यही साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लज्जावती’ प्रेमकथामा आधारित पारिवारिक चलचित्र भएको निर्माण टीमको दाबी छ।
निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्रमा प्रेमसँगै पारिवारिक सम्बन्ध, संघर्ष, त्याग, आत्मीयता र नेपाली समाजका विविध पक्षलाई प्रस्तुत गरिएको निर्माण पक्षको भनाइ छ।
चलचित्रमा अभिनेता श्री कृष्ण निरौला, मुकुन भुसाल, अभिनेत्री मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठलगायत कलाकारको अभिनय छ।
चलचित्रबारे नेपाल न्यूज बैंकसँग कुरा गर्दै निर्माता कमलप्रसाद शर्माले ‘लज्जावती’मा गरिएको दुई करोड रुपैयाँको लगानी सुरक्षित हुने वा नहुने भन्ने कुरा अब दर्शकको निर्णयमा निर्भर रहने बताए।
निर्माण टिमले आफ्नो तर्फबाट कथा, प्रस्तुति, गीत, ट्रेलर र प्रचारप्रसारमा मेहनत गरिसकेको उनको भनाइ छ।
चलचित्रका गीत र ट्रेलरले पाएको प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित बनाएको छ। तर अन्ततः फिल्मको व्यापारका लागि दर्शक हलसम्म पुग्नुपर्ने हुन्छ।
‘दर्शक हलसम्म गइदिनुभयो भने लगानी अटोमेटिक उठ्छ। त्यसैले अहिले हामीलाई सबैभन्दा धेरै दर्शकको साथ र सहयोग चाहिएको छ,’ शर्माले भने।
‘लज्जावती’ यही साउन २९ गते नेपालका विभिन्न हलमा प्रदर्शनमा आउने तयारीमा छ। निर्माण पक्षले चलचित्र नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली दर्शकसम्म पनि पुर्याउने तयारी गरेको जनाएको छ।
निर्माता शर्मा सम्पूर्ण दर्शकलाई साउन २९ गते हलसम्म पुगेर चलचित्र हेर्न आग्रह गर्छन्। ‘देश–विदेशमा रहनुभएका सम्पूर्ण दर्शकलाई साउन २९ गते हलमा आएर ‘लज्जावती’ हेरिदिनुहोस् भन्न चाहन्छु। तपाईंहरूको साथ, सहयोग र मायाको अहिले हामीलाई एकदमै धेरै खाँचो छ,’ उनले भने।


