काठमाडौं। इन्डोनेसियामा शनिबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)का अनुसार स्थानीय समयअनुसार बिहान ३ बजेर २८ मिनेटमा गएको भूकम्प ४९ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको थियो ।
शक्तिशाली भूकम्पपछि युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)ले सुनामीको चेतावनीसमेत जारी गरेको छ।
मुख्य भूकम्पपछि फ्लोरेस सागर क्षेत्रमा लगातार दुईवटा शक्तिशाली परकम्पसमेत गएको एनसीएसले जनाएको छ। बिहान ३ बजेर ४३ मिनेटमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्प ६३ किलोमिटर गहिराइमा रहेको थियो।
त्यसको करिब १५ मिनेटपछि बिहान ३ बजेर ५८ मिनेटमा सोही क्षेत्रमा ६ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो। यसको केन्द्र ४२ किलोमिटर गहिराइमा रहेको एनसीएसले जनाएको छ।
फ्लोरेस सागर इन्डोनेसियाका फ्लोरेस र सुलावेसी द्वीपबीचको क्षेत्रमा पर्छ। लगातार शक्तिशाली भूकम्प गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले अवस्थाको निगरानी बढाएका छन्।
इन्डोनेसिया विश्वका सक्रिय भूकम्पीय तथा ज्वालामुखीय क्षेत्रमध्ये एक हो। यहाँ प्रशान्त महासागर वरपर फैलिएको सक्रिय भूकम्पीय क्षेत्रका कारण बारम्बार भूकम्प जाने गर्छ। एएनआई


