काठमाडौँ: ग्राहकलाई जुनसुकै समयमा किनमेलको सुविधा दिने उद्देश्यले भाटभटेनी सुपरमार्केटले पहिलोपटक २४ घण्टा सञ्चालनको अभ्यास सुरु गर्ने भएको छ। पाइलट परियोजनाका रूपमा भक्तपुरस्थित स्टोरलाई चौबीसै घण्टा सञ्चालनमा ल्याउन लागिएको हो।
भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङका अनुसार बुधबार रातिदेखि गरिएको परीक्षण सफल भएपछि भदौ १ गतेदेखि भक्तपुर स्टोर नियमित रूपमा चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरिएको हो।
गुरुङले अन्तर्राष्ट्रिय बजारमा प्रचलित चौबीसै घण्टा सञ्चालन हुने सुपरमार्केटको अभ्यासलाई नेपालमा पनि लागू गर्न खोजिएको बताए। भक्तपुरमा सुरु गरिएको परीक्षणबाट प्राप्त अनुभवका आधारमा क्रमशः अन्य स्टोरमा समेत सेवा विस्तार गर्ने भाटभटेनीको योजना छ।
उनका अनुसार रातको समयमा स्टोर सञ्चालन गर्दा ग्राहकलाई मात्र नभई दिनको समयमा हुने व्यवस्थापकीय गतिविधिबाट हुने असहजता पनि घट्नेछ। सामान थप्ने, मिलाउने तथा स्टोरभित्रको व्यवस्थापनलगायतका काम राति नै सम्पन्न गर्ने व्यवस्था मिलाइनेछ, जसले बिहानदेखि आउने ग्राहकलाई व्यवस्थित वातावरणमा किनमेल गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
यसअघि भक्तपुरस्थित भाटभटेनी बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएको थियो। अब भने दिन र रात दुवै समयमा सेवा उपलब्ध हुनेछ।
रात्रिकालीन सेवाका लागि खटिने कर्मचारीलाई प्रोत्साहनस्वरूप नियमित पारिश्रमिकभन्दा २५ प्रतिशत बढी रकम उपलब्ध गराइने व्यवस्थासमेत गरिएको गुरुङले जानकारी दिए। राति कार्यरत कर्मचारीका लागि चिया तथा खाजाको व्यवस्था पनि गरिनेछ।
भक्तपुरको अनुभव सफल भएमा मुलुकभर रहेका अन्य भाटभटेनी स्टोरमा पनि २४ घण्टा सेवा विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ। ग्राहकको आवागमन र स्थानीय परिस्थितिअनुसार क्रमशः अन्य शाखामा यस्तो व्यवस्था लागू गरिने जनाइएको छ।
भाटभटेनी देशकै ठूलो खुद्रा व्यापारिक सञ्जालका रूपमा स्थापित छ। गत वर्षको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ भन्दा बढी स्टोरमा आगजनी तथा क्षति भएको थियो। तीमध्ये अधिकांश पुनः सञ्चालनमा आइसकेका छन्।
पुनः सञ्चालनमा आएका स्टोरमा समेत अहिलेको सीमित समयको कारोबारले भीड र सवारी व्यवस्थापनमा दबाब सिर्जना गर्ने गरेको कम्पनीको भनाइ छ। २४ घण्टा सेवा सुरु भएपछि ग्राहकको आवागमन फरक समयमा विभाजित हुने भएकाले मुख्य समयको भीड तथा ट्राफिक चाप व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भक्तपुरबाट सुरु हुने यो प्रयोग सफल भए भाटभटेनीको सञ्चालन शैलीमा समेत ठूलो परिवर्तन आउनेछ। कम्पनीले रातको समयलाई व्यवस्थापन र पुनःपूर्ति कार्यका लागि समेत उपयोग गर्दै ग्राहकलाई चौबीसै घण्टा सहज किनमेलको वातावरण उपलब्ध गराउने रणनीति अघि सारेको छ।


