नेपालीको पहिचान, गौरव र शानसँग जोडिएको परम्परागत खुकुरी निर्माण गर्ने सीप तथा व्यवसायको संरक्षणका लागि वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ। सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा पुस्तौँदेखि खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकलाई वर्ल्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो।
खुकुरी तथा अन्य फलामजन्य सामग्री निर्माणका लागि सुरक्षित र व्यवस्थित कार्यस्थलको अभाव झेलिरहेका विक दम्पतीका लागि निर्माण गरिएको टहराले व्यवसायलाई निरन्तरता दिन सहज हुने कम्पनीले जनाएको छ। परम्परागत सीप र व्यवसायको संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी तथा आयआर्जनका अवसरलाई निरन्तरता दिने उद्देश्यले सहयोग गरिएको वर्ल्डलिंकले जनाएको छ।
सहयोगपछि व्यवसायलाई निरन्तरता दिन थप हौसला मिलेको राजु विकले बताए। उनका अनुसार सुरक्षित कार्यस्थल भएपछि खुकुरीलगायत फलामजन्य सामग्री निर्माण गर्न सहज हुनेछ।


