काठमाडौँ: मिस पबी बिहीबार साँझ कलंकीस्थित स्युचाटारमा जुम्बाको तालमा खुलेर नाचिन्। कहिले महिला त कहिले बालबालिकासँगै छमछमी नाचेकी पबीले त्यहाँ उपस्थितलाई पनि जुम्बाको रमाइलोमा सहभागी गराइन्।
द डिभाइन डान्स स्टुडियोको उद्घाटनका लागि पुगेकी पबीले रिबन काटेर स्टुडियोको औपचारिक उद्घाटन गरेपछि आफू पनि सहभागी भएर जुम्बा गरेकी हुन्। जुम्बाको तालमा पबी निकै उत्साहित देखिएकी थिइन्।
पबीले आफू पनि नियमित रूपमा जुम्बा गरिरहेको बताउँदै शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जुम्बा निकै उपयोगी रहेको बताइन्।
‘जुम्बा भनेको नाच मात्रै होइन, शरीरलाई सक्रिय राख्ने रमाइलो माध्यम पनि हो। म आफैं पनि जुम्बा गरिरहेको छु। स्वास्थ्यका लागि पनि यो निकै राम्रो लाग्छ,’ उनले भनिन्।
उद्घाटन कार्यक्रममा पबीले स्टुडियोका प्रशिक्षार्थीहरूसँगै जुम्बा गरेकी थिइन्। महिला र बालबालिकाको उत्साहका बीच उनले खुलेर नाचेपछि कार्यक्रम थप रमाइलो बनेको थियो।
द डिभाइन डान्स स्टुडियोका सञ्चालक भरत बरालले सबै उमेर समूहलाई लक्षित गरेर नृत्य तथा जुम्बामार्फत स्वास्थ्य र मनोरञ्जनलाई जोड्ने उद्देश्यले स्टुडियो सञ्चालनमा ल्याइएको बताए।
‘नृत्यलाई मनोरञ्जनसँग मात्रै जोडेर नहेरी स्वास्थ्य र आत्मविश्वाससँग पनि जोड्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो। महिला, बालबालिका र अन्य उमेर समूहका लागि पनि सहज र रमाइलो वातावरणमा नृत्य तथा जुम्बा सिकाउने योजना छ,’ बरालले भने।
उनका अनुसार स्टुडियोमा नृत्यसँगै जुम्बामार्फत शारीरिक सक्रियता बढाउने र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने प्रयास गरिनेछ।
मिस पबीको उपस्थितिले उद्घाटन कार्यक्रमको माहोल थप उत्साहपूर्ण बनेको थियो। रिबन काटेर उद्घाटन गरेपछि जुम्बामा सहभागी भएकी पबी महिला तथा बालबालिकासँगै नाच्दै कार्यक्रमको मुख्य आकर्षणसमेत बनिन्।


