काठमाडौँ- काठमाडौं महानगरपालिकाले आगामी अर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट पेस गरेकी हुन्।
महानगरले चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरेको छ।
धुलो रहित काठमाडौं योजना कार्यान्वयन गर्न महानगरले १ अर्ब रुपैयाँ रकम विनियोजन गरेको बजेटमा उल्लेख छ।
महानगरले शिक्षाका लागि १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गर्दा स्वास्थ्यका लागि ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ।
पूर्वाधारमा ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ विनियोजन गरेको महानगरले संस्कृति सम्पदा तथा पर्यटनका लागि २ अर्ब १३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको उल्लेख छ।
काठमाडौँ महानगरपालिकाले वार्षिक एक लाख रकम भन्दा कमको बहाल कर उठाउने र आम्दानीका अन्य स्रोत नभएकाहरूका लागि ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्दै महानगरले यस्तो घोषणा गरेको हो।
तर बढी आम्दानी गरेर कम बहाल रकम असुल भएको देखाए १० प्रतिशत जरिमाना लगाउनेसमेत उल्लेख गरेको छ।
महानगर क्षेत्रभित्रका व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, जग्गा, पोखरी वा अन्य सम्पत्ति पूरै या आंशिक तवरले बहाल लगाए कर लाग्ने उल्लेख गरेको छ। कुल बहाल रकमको १० प्रतिशतका दरले स्रोतमै करकट्टी गरी बहाल कर लिने महानगरले जनाएको छ।


