काठमाडौँ: चर्चित गायिका टीका पुनको स्वरमा ‘धनले के गर्यो’ बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक भएको छ। हरितालिका तीज नजिकिँदै गर्दा गोरक्षनाथ मिडिया हाउस प्रालिको प्रस्तुतिमा गीत सार्वजनिक गरिएको हो।
गीतले विवाहपछि महिलाले पराई घरमा भोग्नुपर्ने मानसिक पीडा, पारिवारिक दबाब, घरेलु हिंसा तथा सामाजिक अवस्थालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ। गीतले धन–सम्पत्तिभन्दा माया, सम्मान, समझदारी र राम्रो व्यवहार महत्त्वपूर्ण हुने सन्देश दिएको छ।
गीतको शब्द सन्त कुमार केसी र रोमश भण्डारीले संयुक्त रूपमा लेखेका हुन् भने संगीत रोमश भण्डारीकै रहेको छ। नेपाली गीत–संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय सर्जकद्वयले समाजमा देखिने वास्तविकता र चेलीबेटीले विवाहपछि भोग्नुपर्ने पीडालाई सरल तर निकै मार्मिक शब्दमा उतारेका छन्।
लोक तथा तीज गीतको क्षेत्रमा लामो समयदेखि सक्रिय पुनको स्वरमा रहेको भावनात्मक गहिराइले गीतको कथावस्तुलाई थप प्रभावकारी बनाएको छ। चेलीको पीडा, आमाको सम्झना र वैवाहिक जीवनमा भोग्नुपरेको विवशतालाई उनले गायकीमार्फत निकै भावपूर्ण ढंगले प्रस्तुत गरेकी छन्। गीतको शब्द र कथावस्तुसँग उनको स्वरको भावनात्मक मेलले ‘धनले के गर्यो’लाई अझ मार्मिक बनाएको छ।
गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्।
गीतको भिडियोमा नारायणी खत्री, विष्णुप्रसाद भण्डारी, रश्मी भट्ट र देवी भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ। यस गीतमार्फत विष्णुप्रसाद भण्डारीले पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरेका छन्।
गीतको निर्देशन तथा कोरियोग्राफी मौसम हिमाली र दीपेन्द्र प्रकाश केसीले संयुक्त रूपमा गरेका हुन्। दुवैले गीतको भाव, कथावस्तु र कलाकारको अभिनयलाई केन्द्रमा राख्दै भिडियो तयार गरेका छन्। गीतको सामाजिक सन्देशलाई दृश्य माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्देशनमा कथात्मक शैली अपनाइएको छ भने कोरियोग्राफीमा तीज गीतको मौलिकता र कथाको भावनात्मक पक्षलाई सन्तुलित गरिएको छ।भिडियोको छायांकन दिनेश पराजुलीले गरेका छन्।
भिडियो


