काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन भन्ने समाचार झुटो भएको गृह मन्त्रालयले बताएको छ। सोमबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारप्रति खण्डन गरेको हो।
‘आर्थिक राष्ट्रिय दैनिकको मिति २०८० असार ११ गते प्रथम पृष्ठमा प्रकाशित नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षक समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालय उक्त झूठो, निराधार र भ्रमपूर्ण समाचारको खण्डन गर्दछ। गृहमन्त्रीले कुनै व्यक्तिलक्षित निर्देशन दिएको कुरा भन्ने कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको व्यहोरा अवगत गराउँछु।’
समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न त्यस्तो प्रयास गरिएको मन्त्रालयको भनाइ छ।
आर्थिक दैनिकले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षकमा सोमबार समाचार प्रकाशन गरेको थियो।



