काठमाडौं– आमा–दिदीबहिनीको उल्लासमय चाड तीज संघारमा आइरहँदा तपाईँले यो पर्व कसरी मनाउने योजना बनाइरहनु भएको छ, कुन्नी?, तर नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
पट–लक शब्दले समान उत्तरदायित्वसहितको एउटा सहभोजको अर्थ दिन्छ। यो अनुक्रममा सहभागीहरु आ–आफूले केही न केही परिकार तयार पारेर जमघटमा सहभागी हुन्छन् र एकअर्काले ल्याएका ती परिकारहरु बाँडीचुडीँ खान्छन्। र, रमाइलो गर्छन्। ‘पिकनिकको यो तरीका म बसेको ठाउँतिर खुब चलनचल्तीमा छ’, चितवनको रत्ननगरमा जन्मे–हुर्केका तर अहिले अमेरिकाको नर्थ क्यारोलिनमा रहेका गीतकार गिरीले नेपाल क्लिक्ससँग भने, ‘सामूहिकताको यो अभ्यासले हाम्रा आमा–दिदीबहिनीहरुका लागि पनि उपयुक्त हुनसक्छ।’
त्यसो त धुर्मुस–सुन्तली युट्युब च्यानल मार्फत् उनले सार्वजनिक गरेको ‘तीन आँखे मोवाइल’ शीर्षकको यो गीतको भाव र भाष्य भने एउटा दिदीले विदेशमा रहेको आफ्नो भाइसँग गरिरहेको मोवाइल पुकार र आफ्नो तीजे योजनामा आधारित छ। दिदी यो तीजमा पट–लक गर्ने मात्र होइन, तीज– टक गर्ने, लाइभ बस्ने र यतिसम्म कि पोडकास्टमा बस्नेसम्मको योजनामा छिन्। गीतमा जे जस्तो मर्म प्रस्तुत छ त्यसले आधुनिक समाज र तीज पर्वलाई जोड्ने प्रयत्न गरेको छ। डिजिटल दुनियाँमा रमाइरहेको समाजमा हुने परिघटनाहरुलाई प्रस्तुत गरिएको गीतको मेलोडी पनि परम्परागत माधुर्य र आधुनिक ‘अरेन्जमेन्ट’को मिश्रणमा उनिएको छ।
‘मैले जस्तो गीत बनोस् भन्ने चाहेँको थिएँ, यसका संगीतकार बाबुल गिरीले ठ्याक्कै त्यस्तै धुन र लयमा मेरा शब्दहरु राख्दिनुभयो। मेरा शब्द मात्र होइन, अर्थलाई पनि सांगीतिक न्याय भयो’, गीतकार गिरीले भने, ‘बाबुलले बनाएको लयमा गायिका कोमल ओली र अञ्जना खतिवडाको स्वर त्यत्तिकै सुहाएको छ। गीतकारका रुपमा यो गीतबाट म खुशी छु।’
अनमोलको यो गीतमा अर्को पक्ष पनि झल्केको छ, त्यो हो नेपाली डायस्पोरा र कनेक्टभिटी। आप्रवासन र वैदेशिक रोजगारीको सघन प्रभाव रहेको नेपाली समाजमा एउटा दिदीले यो गीतका हरेक तुक्काहरु मार्फत्, अमेरिका, जापान, अष्ट्रेलिया र दुबईसम्मका दाजुभाइलाई सम्झेकी छिन्। यसले नेपाली डायस्पोराको परिदृश्य पनि प्रस्तुत गरेको छ। ‘आफू विदेशमै भएर होला, गीतमा थीममा पनि यो कुरा आयो’, गीतकार गिरीले मुस्कुराउँदै भने, ‘अब दर्शक स्रोताले माया गरिदिनुभयो भने गीतको थीमले पनि न्याय पाउने छ।’
गीतके भिडयोमा भने अभिनेत्री तथा मोडल रचना न्यौपाने र स्मारिका ढकालसहित कोरस ग्रुपको आकर्षक अभिनय तथा नृत्य हेर्न सकिन्छ। भिडियोको निर्देशक जेरी भण्डारीले गरेका हुन्।
यस्तो छ गीतः


