काठमाडौँ: काठमाडौं महानगरपालिकाले विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीका लागि २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ। यसका लागि महानगरपालिका र कीर्तिपुर अस्पतालबीच सम्झौता भएको छ।
महानगर स्वास्थ्य शिक्षा समितिको सिफारिसमा लक्षित वर्गका बिरामीले उक्त सुविधा पाउनेछन्। उपचार सेवा, औजार तथा उपकरणका लागि महानगरले अस्पताललाई २ करोड रुपैयाँ सहयोग गरेको छ। त्यसमध्ये १ करोड रुपैयाँ ‘जलन उपचार कोष’मा राखिनेछ। यही कोषबाट प्रत्येक बिरामीको उपचारमा अधिकतम २ लाख रुपैयाँसम्म खर्च व्यहोरिनेछ।
चालु आर्थिक वर्षमा खर्च नभएको रकम आगामी वर्षमा समेत जलन उपचारमै प्रयोग गरिनेछ। महानगरकी कार्यबाहक प्रमुख सुनिता डंगोलले आर्थिक अभावका कारण कसैले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको बताइन्।