काठमाडौं। नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात चालू आर्थिक वर्ष २०८३/०८४ को दुई महिनामा उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार इन्डक्सन चुल्हो, राइस कुकर र इन्फ्रारेड स्टोभको आयात गत वर्षको सोही अवधिको तुलनामा तीव्र रूपमा बढेको देखिएको हो।
विभागका अनुसार साउन र भदौमा ४ करोड ३७ लाख ८० हजार रुपैयाँ बराबरका १९ हजार ५०० थान इन्डक्सन चुल्हो आयात भएको छ।
गत आवको सोही अवधिमा २ करोड ५७ लाख २९ हजार रुपैयाँका ११ हजार ६०० थान मात्रै इन्डक्सन आयात भएको थियो। यसले मूल्यका आधारमा करिब ७० प्रतिशत र परिमाणका आधारमा करिब ६८ प्रतिशत वृद्धि भएको देखाउँछ।
राइस कुकरको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आवको पहिलो दुई महिनामा ६ करोड ६२ लाख रुपैयाँका ४७ हजार ४०० थान राइस कुकर आयात भएकोमा चालू आवको सोही अवधिमा ११ करोड ९० लाख रुपैयाँका ७३ हजार थान आयात भएको छ।
त्यसैगरी इन्फ्रारेड स्टोभको आयात सबैभन्दा तीव्र गतिमा बढेको देखिएको छ। गत आवको साउन–भदौमा २ करोड ४६ लाख रुपैयाँका १३ हजार ५०० थान आयात भएकोमा यस वर्ष सोही अवधिमा ८ करोड ७५ लाख रुपैयाँका ४१ हजारभन्दा बढी थान इन्फ्रारेड स्टोभ नेपाल भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ।
गत वर्षको फागुन–चैतदेखि देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभावपछि उपभोक्ताहरू वैकल्पिक विद्युतीय उपकरणतर्फ आकर्षित भएकाले यस्ता उपकरणको आयात बढेको हुन सक्ने अनुमान गरिएको छ।
नेपालमा विद्युत् आपूर्तिमा सुधार र विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको प्रवृत्तिसँगै भान्सामा विद्युतीकरणको गति तीव्र बन्दै गएको संकेत पनि पछिल्लो आयात तथ्यांकले देखाएको छ।


