काठमाडौँ: पछिल्लो समय औषधी उद्योगहरुले पनि साधारण सेयर (आईपीओ) निष्काशन गर्न थालेका छन्। यसैगरि निभिक्स फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गर्न लागेको छ।
कम्पनीले आईपीओ निष्काशन र पुँजी संरचना परिवर्तनको प्रस्ताव पारित गर्न यही असोज २६ मा विशेष साधारणसभा बोलाएको छ।
सभाले कम्पनीको पुँजी वृद्धि गरेर ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ पुर्याउने भएको छ। हाल निभिक्सको पुँजी ५५ करोड रुपैयाँ छ। चुक्ता पुँजी बढाउन उद्योगले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ।
यस्तै कम्पनीको प्रवन्धपत्र नियमावली संशोधन गरेर २० प्रतिशत आईपीओ जारी गर्ने र बाँकी ८० प्रतिशत संस्थापक स्वामित्व हुनेगरी लगानी संरचना बनाउने प्रस्ताव सभाले पारित गर्ने उद्योगले जनाएको छ।
हाल २५ प्रतिशत आईपीओ र बाँकी ७५ प्रतिशत संस्थापकको स्वामित्व हुने गरि लगानी संरचना बनाइएको छ। साधारणसभाले पारित गरेपछि उद्योगले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउने भएको छ।
उद्योगको औषधी उत्पादन कारखाना तनहुँको दमौलीमा छ। यसअघि पनि कम्पनीले आईपीओमा जाने निर्णय गरे पनि प्रक्रिया अघि बढेको थिएन्। निभिक्स फर्मास्युटिकल्सले मुटु रोग, मधुमेह, श्वासप्रश्वास, कलेजो र पेटका रोगहरूसम्बन्धी झन्डै दुई दर्जन औषधि उत्पादन गर्दै आएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ड बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ।
नेपालको धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाहरुको वर्चश्व रहँदै आएको छ। पछिल्लो समय जलविद्युत क्षेत्रले पनि हिस्सा बढाएको छ। पछिल्ला वर्ष उत्पादन तथा प्रशोधन समूहअन्तर्गत औषधि उद्योग पनि धमाधम आईपीओ निष्कसान गर्न थालेका छन्।
यसबीचमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गरि सकेको छ। हालै सोपान फर्मास्युटिकल्स लिमिटेडले पनि आईपीओ जारी गरेको छ।
हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई औषधि उद्योग मात्र सूचिकृत भएका छन्। ओम मेगाश्रीले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति (एक्वायर)गर्ने प्रक्रिया अगाडि बढाएको छ।
धितोपत्र बोर्डका अनुसार कान्तिपुर फर्मास्युटिकल्स ल्यव लिमिटेडे र सुप्रिम हेल्थकेयर लिमिटेड आईपीओ जारी गर्न लागेका छन्।
मुलुकमा ८० भन्दा बढी औषधि उद्योगहरू सञ्चालनमा छन्। कुल मागको झन्डै आधा हिस्सा धान्दै आएका छन्। वार्षिक ३० अर्ब रुपैयाँबरारबको स्वदेशी औषधीको कारोबार हुने गरेको छ।


