दमक: कामना सेवा विकास बैंक लिमिटेडले दमकस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलका कक्षा ९ र १० का करिब १५० विद्यार्थीलाई वित्तीय साक्षरता, जीवन उपयोगी सीप र भविष्य निर्माणसम्बन्धी मार्गदर्शन दिएको छ।
विद्यालयको सर्वोदय बाल क्लबले आयोजना गरेको ‘सर्वोदय चौतारी’ अन्तर्गत ‘प्रेरक व्यक्तित्वसँग बालबालिका’ कार्यक्रममा बैंकले अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले आत्मअनुशासन, निर्णय क्षमता, समय व्यवस्थापन र चुनौती सामना गर्ने तरिकाबारे विद्यार्थीलाई जानकारी गराएका थिए। उनले शैक्षिक ज्ञानसँगै व्यवहारिक जीवनमा आवश्यक सीप विकास गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, बैंकका ब्रान्डिङ/सीएसआर तथा मार्केटिङ प्रमुख सुशील पौडेलले लक्ष्य निर्धारण, भविष्यको दिशा र करिअरसम्बन्धी मार्गदर्शन दिएका थिए। उनले विद्यार्थीलाई आफ्नो रुचि र क्षमता पहिचान गरी स्पष्ट लक्ष्य तय गर्न तथा त्यसलाई योजनाबद्ध रूपमा अघि बढाउन सुझाव दिए।
कार्यक्रममा बचत तथा लगानी, आवश्यकता र चाहनाबीचको भिन्नता, पैसाको योजनाबद्ध प्रयोग र जिम्मेवार आर्थिक व्यवहारबारे पनि विद्यार्थीलाई जानकारी दिइएको थियो। विद्यार्थीहरूले आफ्ना भविष्यका योजना तथा करिअरसँग सम्बन्धित जिज्ञासा वक्तासमक्ष राखेका थिए।
बैंकले वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थी, युवा र समुदायमा वित्तीय चेतना तथा जीवन उपयोगी सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


