काठमाडौँ: स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ। बैंकले गत अगस्टमा नेपालका विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा राहतका लागि उक्त रकम सहयोग गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत गौरव राणाले बाढीका कारण धेरै परिवारको जनजीवन र जीविकोपार्जनमा ठूलो असर परेको भन्दै प्रभावित समुदायको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यले कोषमा योगदान गरिएको बताए।
उनका अनुसार प्रभावित समुदायलाई आफ्नो जीविकोपार्जन पुनःस्थापित गर्न तथा भविष्यमा यस्ता विपद्सँग जुध्न सक्ने क्षमता अभिवृद्धि गर्न सरकारको जारी प्रयासमा बैंकले सहयोग गर्न चाहेको हो।
नेपालमा लामो समयदेखि बैंकिङ सेवा दिँदै आएको स्ट्यान्डर्ड चार्टर्डले मुलुकको पुनःस्थापना प्रयास तथा समुदायमा दीर्घकालीन प्रभाव पार्ने सामाजिक पहलमा सहयोग गर्दै आएको जनाएको छ।


