काठमाडौँ: नेपाल विज्ञापन संघ (आन)ले रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम आयोजना गरेको छ। असोज १६ गते काठमाडौंमा आयोजित कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका विभिन्न व्यक्तित्व तथा एजेन्सीहरूको सहभागिता रहेको थियो।
यसअघि कृति अवार्ड्सका क्रममा एजेन्सीहरूलाई अवार्ड्सका मापदण्ड तथा प्रशासनिक विषयमा जानकारी गराउन ‘एजेन्सी ब्रीफिङ सेसन’ आयोजना हुँदै आएको थियो। यस वर्ष भने गैरसदस्य एजेन्सीलाई समेत सहभागी गराउँदै कार्यक्रमलाई ‘कृति कनेक्ट’का रूपमा आयोजना गरिएको आनले जनाएको छ।
‘क्रिएटिभिटी कनेक्ट, ह्वेर इट अल स्टार्ट्स’ नारासहित आयोजित कार्यक्रममा विज्ञापन तथा बजारीकरण क्षेत्रका नयाँ विचार, सिर्जनात्मकता र व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउने विषयमा विभिन्न गतिविधि सञ्चालन गरिएको थियो।
कार्यक्रममा आनका पूर्वअध्यक्ष तथा कृति अवार्ड्सका सुरुवातकर्ता भास्कर राज राजकर्णिकारले अवार्ड्सको उद्देश्य र उपादेयताबारे जानकारी दिएका थिए। आनका प्रथम उपाध्यक्ष उज्वल शाक्यले कृति अवार्ड्सको १३औँ शृंखलाका विभिन्न पक्षबारे जानकारी गराएका थिए।
त्यस्तै, हालसम्म सबैभन्दा धेरै कृति अवार्ड्स जितेको मेकवेज प्रालिका प्रमुख विधान राजभण्डारीले अवार्ड जित्नका लागि आवश्यक तयारी र प्रस्तुतीकरणका विषयमा सहभागीलाई जानकारी दिएका थिए।
कार्यक्रममा नेपाली विज्ञापन उद्योगका समसामयिक विषय तथा सिर्जनात्मक बजारीकरणका विभिन्न आयामबारे छलफलसमेत गरिएको थियो।
कार्यक्रमको समापनमा आनका अध्यक्ष सुदीप थापाले यस्ता कार्यक्रमले नेपालको विज्ञापन तथा ब्रान्डिङ उद्योगलाई थप एकताबद्ध बनाउन, पारदर्शिता बढाउन र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
यस वर्षको कृति अवार्ड्सको मुख्य प्रायोजक रेड बुल रहेको छ। इनमार्क इन्डिया एन्ड एसोसिएट्स, जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेशनल कलेज प्रायोजक रहेका छन्। एनसेल, प्राइम टाइल्सलगायतका ब्रान्डहरू भने सहयोगी प्रायोजकका रूपमा रहेका छन्।


