काठमाडौँ: पछिल्लो समय जलविद्युत आयोजना निर्माणको क्रम बढ्दै गएको छ। यस्तै हुम्ला जिल्लाको चंखेली गाउँपालिकामा ७० मेगावाट क्षमताको मिमीबान खोला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुन लागेको हो।
आयोजना निर्माणका लागि विकासकर्ता स्टिभा हाइड्रो प्रालिले वातावरणीय प्रभाव मूल्यांक प्रतिवेदन (ईआईए) तयारीका लागि क्षेत्र निर्धारण सम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरेको छ।
आयोजना समुद्री सतहबाट करिब २६ सय ८५ मिटरको उचाइमा रहने भएको छ। मिमीबान खोलामा १९ मिटर अग्लो बाँध निर्माणको प्रस्ताव गरिएको छ। आयोजनाको जलाशयमा २ घण्टासम्म पानी जम्मा हुने गरी डिजाइन तयार पारिएको विकासकर्ता कम्पनी स्टिभा हाइड्रोले जनाएको छ।
पानीलाई २ वटा इन्टेकमार्फत भूमिगत सेटलिङ बेसिन हुँदै भण्डारण सुरुङमा पठाइने भएको छ। पानीलाई पुनः २ घण्टासम्म जम्मा गरी राखिने भएको छ।
त्यसपछि ६ किलोमिटर लामो सुरुङ तथा १२ मिटर व्यास र २८.५ मिटर उचाइ भएको सर्जसाफ्ट हुँदै पानीलाई विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने भएको छ।
उक्त विद्युतगृह लोती कर्णाली नदी र मिमीबान खोलाको संगमस्थलभन्दा ८५ मिटर माथि दायाँ किनारमा रहने प्रस्ताव गरिएको छ। विद्युत उत्पादन पछि उपयोग गरिएको पानीलाई ४४६ मिटर लामो टेलरेसमार्फत लोती कर्णाली नदीको बायाँ किनारमा मिसाइने प्रस्ताव गरिएको छ।
आयोजनाको सम्भाव्यता तथा वातावरणीय प्रभाव मूल्यांकन अध्ययनले अयोजनाको अरू सम्भाव्य विकल्पहरुको अध्ययन गरी जडान क्षमता, बाँध बाध्ने स्थान, बाँधको उचाइ, विद्युतगृह अवस्थित हुने स्थान र अन्य प्राविधिक पक्षको बारेमा अन्तिम तय गरिने भएको छ।
