काठमाडौँ: दुई व्यवसायिक घरनाबीच हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर किनबेच विवाद निरुपरणका लागि उच्च अदालत पाटनमा पुग्यो। उच्च अदालतले पर्याप्त सुनवाइ गर्न भन्दै कम्पनी रजिष्टारको कार्यालयमा मुद्धाको मिसिल फिर्ता पठाएको छ।
अदालतबाट मिसिल फिर्ता आएपछि रजिष्ट्रारको कार्यालयले कामाख्या फिनकोर्प प्रालिका तत्कालीन अध्यक्ष सुलभ अग्रवाल र सञ्चालक सुभी अग्रवालको नाममा ७ दिनको समाव्हान र इतलायनामा म्याद सूचना जारी गरेको छ।
उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
हिमालय रिइन्स्योरेन्स लिमिटेडको सेयर जफत तथा हस्तान्तरणको प्रक्रिया, कम्पनीको प्रबन्धपत्र, नियमावली तथा कम्पनी ऐन २०६३ को पालना भए नभएको सम्बन्धमा आवश्यक प्रमाण बुझी सम्बन्धित पक्षलाई सुनुवाइको पर्याप्त अवसर प्रदान गरी कानून बमोजिम निर्णय गर्नु भनी आदेश आएको कार्यालयले जनाएको छ।
उच्च अदालतबाट मिसिल फिर्ता आएपछि कार्यालयले थप सुनुवाइका लागि सुलभ र सुभी दुबैलाई पत्र पठाए उपस्थित हुन भनेको थियो। हालसम्म उपस्थित नभएपछि पुनः पत्राचार गरेको कार्यालयले जनाएको छ।
कार्यालयले ७ दिनभित्रमा लिखित प्रतिक्रिया र कानून बमोजिमको आफ्नो लिखित प्रमाणसमेत लिई आफै हाजिर हुन वा कानून बमोजिमको प्रतिनिधि वा कानून व्यवसायी पठाउनु भनेको छ।
हिमालयन रि–इन्स्योरेन्स २ अर्ब ३३ करोड घाटामा
म्यादभित्र लिखित प्रतिक्रिया लिई आफै वा वकिलमार्फत उपस्थित नभएमा कानून वमोजिम निर्णय हुने र पछि त्यस विषयमा तपाईंको कुनै उजुर बाजुर नलाग्ने कार्यालयले स्पष्ट पारेको छ। रजिष्टार कार्यालयले फिनकोर्प, सुलभ र सुभीलाई बेग्लाबेग्लै पत्र काटेको छ।
यसरी सुरु भयो विवाद
सुलभले हिमालयन रि–इन्स्योरेन्सको प्रतिकित्ता १०० अंकित मूल्य रहेको सेयरलाई ८०० सय रुपैयाँ कायम गरेपछि असहमति जनाउँदै तिमल्सिना कम्पनी रजिष्टार कार्यालय हुँदै उच्च अदालत पाटन पुगेका थिए। आपसी समझदारीबाट विवाद किनारा नलागेपछि मुकुन्द अदालत पुगेका हुन्।
अदालतले पनि कम्पनी ऐनबमोजिम निर्णय गर्न आदेश दिएपछि रजिष्टारले सुनुवाइको प्रक्रिया पुनः सुरु गर्न लागेको हो।
तिमिल्सिनाले हिमालयन रि–इन्स्योरेन्सको कबुल गरेको सेयर नदिएको र बढी मूल्य लिएको जिकिर गर्दै कम्पनी रजिष्टारको कार्यालयमा दुई वर्षअघि उजुरी दर्ता गरेका थिए।
कम्पनी रजिष्टारको कार्यालयले सुलभ र सुभी अग्रवाललाई एक साताभित्र उपस्थित हुन सूचना जारी गरेको थियो। त्यसपछि तिमिल्सिना उच्च अदालत पाटन पुगेका थिए।
सेयर किनबेचलगायत अन्य वित्तीय कारोबारमा मुछिएपछि सुलभ अहिले प्रहरी हिरासतमा छन्।
उजुरीकर्ता तिमिल्सिनाले फिनकोर्पको संस्थापक सेयरधनी जगदम्बा फ्लोर एन्ड एग्रो प्रालिको सत्प्रतिशत सेयर जफत गरेको, दिन कबुल गरेको सेयरको रकम जम्मा नगरी बिक्री गरेको आरोप लगाएका छन्।
यस्तै कम्पनीको सेयर जफत र खरिद बिक्री गर्ने कार्य मिलेमतोमा भएको र हिमालयन रि–इन्स्योरेन्सको सेयर एकलौटी जफत गरिएको दाबी तिमल्सिनाको छ।
२८ करोड बढी लिएको दाबी
तिमल्सिनाले सेयर नपाएपछि कम्पनीमा गरिएको सबै कार्यको बदर गरी दाखिला भएको ३४ करोड ८० लाख र सोको ब्याजसहितको क्षतिपूर्तिसमेत दिलाइ पाउँ भनी सुलभ, सुभी अग्रवालका साथै कामाख्या फिनकोर्पसमेतका विरुद्धमा उजुरी दर्ता गराएका थिए।सहमतिविनै हिमालयन रि–इन्स्योरेन्सको सेयरको बढी मूल्य लिएको तिमल्सिनाको जिकिर छ।
हिमालयन रि–इन्स्योरेन्सको प्रतिकित्ता १०० रुपैयाँमा सेयर दिन सहमति भएकोमा पछि सुलभले ७०० सय रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ८०० रुपैयाँ मूल्य कायम गरी २८ करोड रुपैयाँ बढी लिएको दाबी तिमल्सिनाको छ।
कामाख्या फिनकर्पले लिन कबुल गरेको हिमालयन रिको ९ लाख कित्ता संस्थापक सेयर मध्ये २ लाख २५ हजार कित्ता सेयर जफत गरी बाँकी ६ लाख ७५ हजार कित्ता सेयर प्रतिकित्ता ८०० रुपैयामा बेचेको आरोप तिमल्सिनाले सुलभलाई लगाएका छन्।
जफत गरिएको भनिएको सेयर सुभीलगायत अर्को व्यवसायिक घरनाले लिने सहमति भएको थियो। तर, सुभीले आफ्नो नाममा रहेको सेयर २०७८ असार १६ गते बढी मूल्यमा बिक्री गरेको खुलेको छ।
प्रथम वार्षिक साधारणसभा नभएसम्म संस्थापकले सेयर बिक्री गर्न नपाउने प्रावधानलाई छल्न सेयर जफत गर्ने सुभी मात्र बसेर हिमालयन रि–इन्स्योरेन्सको सेयर छाड्ने र विना आधार हिमालयन रिको सेयरमा ७०० रुपैयाँ प्रिमियम थपेर सुलभ अग्रवालले प्रतिकित्ता ८०० रुपैयाँमा बिक्री गरेको आरोप लगाइएको छ। लिन कबुल गरेको सेयर रकम दाखिला नगर्ने भनी जानकारी गराइ संस्थापकले लिन कबुल गरेको सेयर जफत भएको जिकिर मुकुन्दको छ।
हिमालयन रि–मा सेयर लगानी गरेको कामाख्या फिनकर्पको प्रवन्धपत्र नियमावली संशोधन हुनुपर्नेमा सो नभएको पाइएको कम्पनी रजिष्टारको कार्यालयले जनाएको छ।
कम्पनीको प्रवन्धपत्र नियमावली संशोधन नहुँदै कम्पनीको एकल अध्यक्ष तथा सञ्चालक भनी वैठक बसेर निर्णय गरेको आरोप सुभीमाथि लागेको छ।
यस्तै २०७८ जेठ २५ गते सुभीको उपस्थिती भइ बसेको बैठकले हिमालयन रि–इन्स्योरेन्सको कामाख्याले लिन कबुल गरेको ९ लाख कित्ता मध्ये २ लाख २५ हजार कित्ताको हक छाडी ६ लाख ७५ हजार कित्ता मात्र लिने निर्णय अवैधानिक भएको जिकिर तिमल्सिनाको छ।
सुभीले आफ्नो नाममा रहेको सबै सेयर प्रिमियम मूल्य राखेर २०७८ असार १६ गते दुई व्यवसायीलाई प्रतिकित्ता ८०० रुपैयाँमा बिक्री गरेको भनिएको छ।
प्रिमियम मूल्यमा सेयर बेचेपछि २०७८ असार १७ गते विशेष साधारणसभाबाट नियमावली संशोधन गरी एकल कामाख्या फिनकर्प बहुल सेयरधनीमा परिणत भइको र सोको स्वीकृति तथा अभिलेख २०७८ भदौ १३ गते मात्र भएको जिकिर ति व्यवसायीको छ।
एकल सेयरधनी कायम रहेको कम्पनीमा बहुल सेयरधनी कायम भएपछि कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत अभिलेख नहुँदै गरेको काम कारबाहीको कानुनी वैधतामा प्रश्न उठेको छ।
