‘आजको दिनमा ‘ट्रिपअडभाइजरमा ‘शेर्पा’ रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्, गज्जबका उद्यमी पनि हुन्,’ २०२४ मार्च १२ मा नेपाली कांग्रेसका सभापति (तत्कालिन महामन्त्री) गगन थापाले लेखेका थिए, ‘नेपालीहरूले जहाँ भए पनि गज्जब गर्न सक्छन् र कांग्रेस उद्यमीहरूको पार्टी हो भन्ने कुरा स्थापित गर्न सालिकले गरेको मेहनतको कथा एउटा अर्को उदाहरण हो। आफू वरपरका र पार्टीका साथीहरूले गर्नुभएको गज्जबको कामहरुलाई पस्किने जमर्को गर्ने छु। तपाईंहरुको साथको अपेक्षा रहनेछ।’
कथा नेपालीको र कथा कांग्रेसको ह्याजट्यागसहित थापाले गौतमको प्रशंसा गरेका थिए।
उनै उद्यमी शालिकराम गौतम यतिवेला न्युरोडको आम्सटर्डमबाट ७ हजार १० किलोमिटर वर आफ्नो मुलुकमा छन्। उनी यसवेला न व्यापारिक प्रयोजनका लागि आएका हुन्, न चाँडपर्व मनाउन त न पारिवारिक भेटघाटमा। उनी आएका हुन् काठमाडौँमा जारी नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनमा सहभागी हुन।
उनी खुलामञ्चमा आइतबारदेखि सुरु हुन लागेको कांग्रेस महाधिवेशनमा आगामी ४ वर्षका लागि केन्द्रीय कार्यसमिति सदस्य पदको उम्मेदवारी दिँदैछन्। उनले जनसम्पर्क समिति क्लष्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेस महाधिवेशनमा उनको यो पहिलोपटकको सहभागिता भने होइन। १३औँ महाधिवेशनका सदस्य उनी १४औँ महाधिवेशनमा महासमिति सदस्य थिए। उनी नेदरल्यान्डस्थित जनसम्पर्क समितिका पूर्व सभापति तथा व्यवसायी पनि हुन्। नेदरल्यान्डमा रेस्टुरेन्ट सञ्चालन गरिरहेका गौतम सफल उद्यमी हुन्।
को हुन् गौतम ?
नेपाली कांग्रेससँग लामो समयदेखि आबद्ध रहँदै आएका उद्यमी तथा राजनीतिक कार्यकर्ता शालिकराम बागलुङे हुन्। विद्यार्थी राजनीतिबाट करियर सुरु गरेका गौतम महाजन माध्यमिक विद्यालय, बागलुङमा उनी विद्यालयको इकाइ नेतृत्वमा रहेर राजनीतिमा सक्रिय भएका थिए।
रोजगारी र व्यवसायका सिलसिलामा विदेश पुगेपछि पनि गौतमको राजनीतिक सक्रियता भने रोकिएन। बेल्जियममा रहँदा उनी नेपाली कांग्रेसको जनसम्पर्क समितिमा आबद्ध भए र महामन्त्रीको जिम्मेवारीसमेत सम्हाले। पछि नेदरल्यान्ड्स पुगेका उनी त्यहाँ पनि कांग्रेसको संगठन निर्माणमा सक्रिय रहे। नेदरल्यान्ड्सस्थित जनसम्पर्क समितिमा महामन्त्रीको जिम्मेवारीपछि उनी सभापतिको भूमिकामा समेत पुगे।
गौतमको अर्को परिचय सफल व्यवसायीका रूपमा पनि बनेको छ। नेदरल्यान्ड्सको आम्स्टर्डममा उनी रेस्टुरेन्ट व्यवसायमा संलग्न छन्। त्यहाँ उनले सञ्चालन गरेको ‘शेर्पा रेस्टुरेन्ट’ आम्स्टर्डमको चर्चित रेस्टुरेन्टका रूपमा स्थापित भएको छ। उक्त रेस्टुरेन्टले फेसबुमा ४.९/५, द फोर्कमा ९.४/१० र ट्रिप डटकममा ४.८/५ रेटिङ पाएको छ।
व्यवसायसँगै नेपाली समुदाय र कांग्रेसको संगठनात्मक गतिविधिमा उनको संलग्नता निरन्तर रहँदै आएको छ।
विदेशमा रहेर कांग्रेसको संगठनमा सक्रिय रहने क्रममा गौतम पार्टीका विभिन्न शीर्ष नेतासँग पनि सम्पर्कमा रहे। तत्कालीन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालासँग उनको निकट राजनीतिक सम्बन्ध थियो। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग पनि उनको राजनीतिक सम्बन्ध रहेको छ।
कांग्रेसको महाधिवेशनमा सहभागी हुने उनको यात्रा पनि पुरानो हो। १३औँ महाधिवेशनमा उनले महाधिवेशन सदस्यका रूपमा सहभागिता जनाएका थिए भने १४औँ महाधिवेशनमा महासमिति सदस्यको जिम्मेवारीमा थिए। विदेशमा बसेर पनि पार्टीका महत्त्वपूर्ण राजनीतिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुन उनी पटकपटक नेपाल आउने गरेका छन्।
पार्टीभित्रको पछिल्लो राजनीतिक बहसमा पनि गौतम सक्रिय देखिएका छन्। जेनजी आन्दोलनपछि कांग्रेसभित्र विशेष महाधिवेशनको आवश्यकता उठेका बेला उनी त्यस अभियानसँग जोडिएका थिए। अहिले भने उनी पार्टीको केन्द्रीय नेतृत्वमै रहेर आफ्नो राजनीतिक भूमिका विस्तार गर्ने तयारीमा छन्।
गौतमले राजनीतिसँगै उद्यमशीलतालाई पनि आफ्नो यात्राको महत्वपूर्ण आधार बनाएका छन्। उनको बुझाइमा विदेशमा हासिल गरेको व्यावसायिक अनुभव, सीप र दक्षतालाई नेपालको राजनीतिक तथा सामाजिक क्षेत्रमा उपयोग गर्न सकिन्छ। यही सोचका साथ उनी कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र व्यावसायिक अनुभवसँग जोड्ने पक्षमा देखिन्छन्।
यसपटक कांग्रेसको १५औँ महाधिवेशनमा गौतम जनसम्पर्क समिति क्लस्टरबाट केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन्। विदेशमा रहेका कांग्रेस कार्यकर्ता तथा नेपाली समुदायसँगको लामो सम्बन्धलाई उनले आफ्नो राजनीतिक आधारका रूपमा लिएका छन्।
उनको उम्मेदवारीको मुख्य सन्देशमा युवाको सहभागिता, विदेशमा आर्जित सीपको सदुपयोग र राजनीतिलाई सेवाको माध्यम बनाउने सोच जोडिएको छ। व्यक्तिगत तथा पारिवारिक जीविकोपार्जनका लागि राजनीतिमा निर्भर हुनुभन्दा आफ्नै पेशा–व्यवसायबाट आर्थिक रूपमा सक्षम भएर सार्वजनिक जीवनमा योगदान गर्नुपर्ने धारणा उनले अघि सार्दै आएका छन्।

