काठमाडौं। नेपाल र अस्ट्रेलियाले द्विपक्षीय आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन्।
मेलबर्नमा बिहीबार भएको भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन तथा श्रम गतिशीलतालगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
भेटवार्तामा दुवै मन्त्रीले नेपाल–अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको विनाशकारीबाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन्।
वङले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १ एक करोड ५० लाख अस्ट्रेलियन डलर सहयोग घोषणा गरिन्। यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि प्रतिबद्ध गरेको १ करोड १० लाख अस्ट्रेलियन डलर सहयोगमा उक्त रकम थप हुनेछ। नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका कार्यमा केन्द्रित रहने जनाइएको छ।
मन्त्री खनालले विपद्का समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गरे। उनले संकटका समयमा प्राप्त सहयोगले नेपाल–अस्ट्रेलियाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप प्रतिबिम्बित गरेको बताए।
यसैगरी, नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत छलफल भएको छ। प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्धलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालसँगको साझेदारीलाई आगामी दिनमा थप सुदृढ गर्न अस्ट्रेलिया प्रतिबद्ध रहेको बताइन्।
दुवै पक्षले उच्चस्तरीय नियमित आदानप्रदानलाई निरन्तरता दिँदै भेटवार्तामा भएका समझदारीलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न सहकार्य गर्ने सहमति गरेका छन्।
