काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले सेयर बेच्दा दिनुपर्ने पूर्वसूचनाको सीमा बढाएको छ। सेबोनले शुक्रबार परिमार्जिन निर्देशन जारी गर्दै यस्तो जानकारी गराएको हो।
हाल कायम रहेको ५ प्रतिशतको सीमालाई बढाएर अब १५ प्रतिशत पुर्याएको सेबोनले जनाएको छ।
बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) अनुसार गत भदौ ९ गते जारी गरेको निर्देशनमा संशोधन गर्दै आधारभूत सेयरधनीका लागि सेयर बिक्रीको सीमा र पूर्वसूचना दिने समयमा परिमार्जन गरेको हो।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा १५ दिनअघि नै सूचना दिनुपर्ने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार यसको सीमा बढेको छ।
नयाँ व्यवस्थाअनुसार कम्पनीको सेयरको लकइन पिरियड समाप्त भएपछि आधारभूत सेयरधनीहरूले १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपर्ने भएमा ५ कारोबार दिनअगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने भएको छ।
यस्तै सेयरधनीबाट बिक्रीको सूचना प्राप्त हुनासाथ सम्बन्धित कम्पनीले यथाशीघ्र नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने सेबोनले जनाएको छ। सेयर बिक्रीका लागि जारी गरिएको सूचनाको वैधता अवधि ३ महिनाको व्यवस्था यथावत कायम गरिएको छ।
यसैगरि बिक्रीको सूचना दिएका तर सेयर बिक्री नगरेका वा पूर्ण रूपमा नबेचेका आधारभूत सेयरधनीले पुनः सोही कम्पनीको सेयर खरिद गरेमा, कारोबार सम्पन्न भएपछि मूल्य र परिमाणसहितको विवरण कम्पनीलाई दिनुपर्ने भएको छ।




