काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा खरिदबिक्री बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। अघिल्लो दिनको सामान्य वृद्धिलाई निरन्तरता दिएको बजारमा कारोबार रकमसमेत बढेको हो।
बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढीको खरिदबिक्री भएको छ। यस दिन ३५३ वटा स्टकको १ करोड २९ लाख ५ हजार कित्ता शेयर किनबेच भएको हो।
शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ। अघिल्लो दिन सकारात्मक सर्किटमा कारोबार भएको कम्पनीको सेयरमा यस दिन पनि वृद्धि कायम रह्यो।
त्यस्तै, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरको सेयरमूल्य पनि ४ प्रतिशतभन्दा बढी बढेको छ। तर यस दिन मूल्य बढेका स्टकको वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ।
अर्कोतर्फ, रिज लाइन इनर्जीको शेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा शुक्रबार कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।




