काठमाडौँः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बजारको मागअनुसार युवालाई सीप प्रदान गरी रोजगारीसँग जोड्नुपर्ने बताएका छन् । उनले युवालाई प्रमाणपत्रमा मात्र सीमित नराखी व्यावहारिक तथा रोजगारमूलक सीप प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।
एभरेस्ट मल्टी स्किल प्रालिको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालको प्रमुख चुनौती बेरोजगारी मात्र नभई बजारले खोजेको सीप र उत्पादन भइरहेको जनशक्तिबीचको अन्तरसमेत रहेको बताए । ‘एकातिर युवाहरू रोजगारी खोजिरहेका छन् भने अर्कातिर उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता छ,’ उनले भने, ‘बजारको मागअनुसार सीप, सीपअनुसारको रोजगारी र रोजगारीबाट आत्मनिर्भरता हासिल गर्नु प्राथमिकता हुनुपर्छ ।’
मन्त्री यादवले सीप विकाससम्बन्धी कार्यक्रमको प्रभावकारिता तालिम लिने व्यक्तिको सङ्ख्याका आधारमा मात्र मूल्याङ्कन गर्न नहुने बताए । तालिमपछि कति जनाले रोजगारी पाए, कति जनाले उद्यम सुरु गरे र उनीहरूको आम्दानीमा कति सुधार आयो भन्ने आधारमा पनि कार्यक्रमको उपलब्धि मापन गर्नुपर्ने उनको भनाइ थियो ।
‘युवालाई प्रमाणपत्र मात्र होइन, काम गर्ने सीप दिनुपर्छ । तालिम मात्र होइन, रोजगारीसँग जोड्ने अवसर पनि दिनुपर्छ,’ उनले भने, ‘कति जनाले तालिम गरे भन्ने आधारमा होइन, कति जनाले रोजगारी पाए, कति जनाले उद्यम सुरु गरे र उनीहरूको आम्दानीमा कति सुधार आयो भन्ने आधारमा पनि मापन गर्नुपर्छ ।’
यसका लागि सरकार, निजी क्षेत्र, तालिम प्रदायक संस्था र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
युवालाई विदेश जानबाट रोक्नु मात्र सरकारको उद्देश्य नभएको उल्लेख गर्दै मन्त्री यादवले नेपालमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए । वैदेशिक रोजगारीमा जाने युवालाई समेत दक्ष, सुरक्षित र मर्यादित श्रमिकका रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने, सीप विकास तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र श्रमिकको सम्मान सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखेको उनले बताए ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले बडादसैँको सुरुवातकै दिन गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीप्रति दुःख व्यक्त गरे । उनले बुढीगण्डकीमा आएको बाढीलाई यसअघि भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको अर्को विपद्का रूपमा उल्लेख गर्दै मुलुकले पुनः प्राकृतिक विपद्को सामना गर्नुपरेको बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष तथा एभरेस्ट मल्टी स्किल प्रालिका अध्यक्ष खगेन्द्र न्यौपानेले सीपबिना वैदेशिक रोजगारीमा जाँदा समय र अवसर खेर जाने तथा कम पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था आउन सक्ने बताए । उनले स्वदेश तथा विदेशमा रोजगारीका अवसर प्राप्त गर्न युवाले व्यावहारिक सीप हासिल गर्नुपर्नेमा जोड दिए । ‘अदक्ष व्यक्तिलाई दक्ष बनाएर मात्र स्वदेश तथा विदेशमा काम गर्दा राम्रो हुन्छ,’ उनले भने ।




