काठमाडौँ: दशैँ आएको छनक कसरी मिल्छ, के गर्दा तपाईंले दशैं आएको महसुस गर्नुहुन्छ ? मालश्री धुन सुन्दा वा आकाशमा चङ्गाहरू उडेको देख्दा ? त्यसबाहेक कतिपय गीत छन्, जसले तपाईंको घरमा दशैंको रौनक ल्याइदिन्छन्।
दशैँ आउनु केही दिन अगाडिदेखि नै रेडियो–टिभीमा मङ्गल धुन बज्न थाल्छ। त्यसरी बज्ने दशैं गीतले झनै रौनकता थपिदिन्छ। नेपाली गीत सङ्गीतको इतिहासमा दशैँसम्बन्धी गीतले ठूलो महत्व राखेको छ। सङ्गीत क्षेत्रमा लागेका अधिकांशले चाडपर्वसम्बन्धी गीत गाउने गरेका छन्। धेरै दशैँ गीत बज्ने गरेपनि दशैँभरि धेरै बज्ने मुख्य दश गीतले नेपालीको मन छुने गरेको छ।
विछोडको पीडा नसकी खप्न दशैंको बेलामा…
दशैँसम्बन्धी गीत भन्ने वित्तिकै यो गीतलाई सम्झिन्छौँ। कालजयी र नेपालीको दशैं झल्काउने आलाप बजेपछि दशैं आइसकेको अनुभूति हुन्छ। यो गीत दशैँसम्बन्धी पुरानो चर्चित गीत हो। सन् १९७० को दशकमा नारायण गोपालले दार्जिलिङमा गएर दिलमाया खातीलाई भेटेरै यो गीत गाउन आग्रह गरेका थिए। त्यसपछि कलकत्तामा नारायण गोपाल र दिलमाया खातीको स्वरमा रेकर्ड गरिएको युगल गीतकै ऐतिहासिक गीत पनि हो।
नमुछे आमा दहीमा टीका…
दशैँ आउनेबित्तिकै बज्ने यो गीतले पनि नेपाली मन दुख्ने गरेको छ। नारायण रायमाझीले एकसरो लोकभाकामा गाएको यो गीत वि.स.२०५७ सालमा कृष्णभक्त राईले विभिन्न बाजा राखेर गाएपछि दशैं गीतको चर्चित गीत बन्यो।
भारतीय सेनामा रहेका रायमाझीका दाजु लक्ष्मण रायमाझीले भारत–पाकिस्तानको कार्गिलको लडाइँ सन् १९९९ ताका यो गीत लेखेका थिए। नेपाली जनजीवनलाई बोकेको यो गीत यथार्थमा पनि मन छुने बनेको छ।
दशैँ नै हो कि यो मेरो दशा फर्किआएको…
यो गीत पनि दशैँक गीतमध्येको चर्चित गीत हो। योगेश्वर अमात्यको स्वरमा रहेको यो गीतमा दशैँ गीतकै फरक स्वाद पाइन्छ। बढ्दो महँगीले नेपाली समाजलाई पारेको असर यो गीतमा प्रस्तुत छ। न्यु बज्राचार्यको सङगीतमा रहेको यो गीतको शब्द गुमनाम जस्तै रहेका सर्जक प्रेम बस्नेतले लेखेका थिए। वि.स. २०५० ताका संवाद समेत हालेर बनेको यो गीत दशैँको परिचय जस्तै बनेको छ।
यसपाली दशैँमा ठूलो दाजु आउने रे…
कुल पोखरेलको स्वरमा रहेको यो गीत दशैँसम्बन्धी गीतको अर्को चर्चित गीत हो। कूल पोखरेलको सम्झनामा अन्य गायकले पनि यो गीतको कभर गाएर युट्युबमा राखेका छन्। पोखरेललाई दशैँमा मज्जाले सम्झाउने गीत हो यो। नेपाली गीत सङगीतमा फरक नामले परिचय बनाएका पोखरेलको यो गीत बालबालिकाले समेत खुब मन पराउने गरेका छन्।
यो दशैँमा म घर आइनFँ…
नेपाली लोकदोहोरी गीतमा दशैँ गीत भन्ने वित्तिकै यो गीतको सम्झना आइहाल्छ। एसएसएस म्यूजिकले बजारमा ल्याएको यो गीतमा रेशम थापा र उद्धव कार्कीलाई सीता थापा र गीता कोइरालाले स्वरमा साथ दिएका छन्। लोकदोहोरी मन नपराउनेले पनि यो दशैं दोहोरीमा ऐतिहासिक गीतको रुपमा लिएका छन्। परदेशबाट घर फर्किन नसकेका नेपालीको पीडा यो गीतमा समेटिएको छ।
रातो टीका दशैँको जमरा…
नेपाली फिल्म पनि दशैँ तिहारको गीतले अत्यधिक चर्चा पाउने गरेको छ। नेपाली फिल्म ‘मनमन्दिर’ मा समावेश यो गीतले पनि दसैँको झल्को ल्याउँछ। अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह नृत्य रहेको यो गीत अहिले पनि दशैँमा उत्तिकै बज्ने गर्दछ।
दशैं आयो…
नेपाली फिल्म ‘मुग्लान’ मा रहेको ‘दशैँ आयो’ गीत पनि दशैंका बेला अत्यधिक बज्ने गीतमा पर्दछ। पछिल्लो पुस्ताको युवामा यो झनै चर्चित गीत हो। सुन्न मात्र होइन दशैंका कार्यक्रममा रमाइलोसँग यो गीतमा युवा पुस्ता नाचिरहेका हुन्छन्। मुग्लान गएका युवाहरूले विशेषत यो गीतमा बढी जोडिएको महससु गर्ने गरेका छन्। यो गीतमा अभिनेता दीलिप रायमाझी, सुशील क्षेत्री, अभिनेत्री विपना थापा लगायतका कलाकारको अभिनय रहेको छ।
वर्ष र दिनमा लै लै…
सुगम पोखरेलको स्वरमा रहेको यो गीत ‘दशैं तिहार’ पनि युवा पुस्ताले औधी रुचाएको दशैँ गीत हो। रवि श्रेष्ठको शब्दमा तयार भएको यो गीतमा पनि स्रोताले दशैँ गीतको फरक स्वाद लिने गरेका छन्। दशैँमा मात्रै नभएर अन्य समयमा पनि यो गीत पोखरेलले विभिन्न कार्यक्रममा गाउने गरेका छन्। नेपाली परिवेशमा यो गीतमा पनि परदेशीको व्यथालाई पनि समेटिएको छ। यो गीत दशैँदेखि तिहारसम्म नै गुञ्जिने गर्छ।







