काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेलाई हमला गरेर कोशी प्रदेशको समस्या समाधान नहुने बताएका छन्। कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेको समूहले इलाममा आफूविरुद्ध कालोझण्डा देखाएपछि भट्टाराईको यस्तो टिप्पणी आएको हो।
‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन,’ भट्टराईले फेसबुकमा लेखेका छन्। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिकाबाट गरिने विरोध आफूहरुलाई मान्य नभएको बताए।
‘आज मलाई कालो झन्डा देखाउनेको अधिकारका लागि म स्वयं र मजस्ता लाखौंले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्समा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ,’ उनले लेखेका छन्।
यस्तो छ योगेशको स्टाटस
मदन भण्डारी फाउण्डेसन ईलामले ७२ औ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा जाँदै गर्दा ईलामबाजारमा केहि ब्यक्तिले कालो झन्डा देखाउनु भयो ।
कार्यक्रम ईलामको जिविस हलमा सानदार रुपले सम्पन्न भएको छ । नेपाली कांग्रेसका युवा नेता गुरु घिमिरे र मैले मुख्य वक्ताका रुपमा लोकतन्त्र र चुनौतीका बारेमा मन्तब्य राखेको उक्त कार्यक्रममा सहभागिता मुलक छलफल पनि भएको थियो ।
एमाले फरक बिचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालो झन्डा देखाउनेहरुको अधिकारका लागि म स्वंयम र मजस्ता लाखौंले लडेर ल्याएको बिरोध गर्ने अधिकारको अभ्यास वहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्समा हामीले बिताएको समयले सार्थकता पाएको अनुभुती भएको छ ।
हाम्रो भनाइ यही छ कि बिरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन ।
एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन ।
एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।
मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु स्वंयम वहाँहरुका लागि पनि लज्जाको बिषय हो ।


