नयाँदिल्ली- भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको अझसम्म पनि पहिचान हुन सकेको छैन। उनीहरूको पहिचान भएपछि अन्त्येष्टि गरिने भारतीय अधिकारीले शुक्रबार बताएका छन्।
पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा ठूलो संख्यामा यात्रुको मृत्यु भएको थियो। अधिकांश मृत शरीरहरू पहिचान गर्न नसकिने गरी क्षतिग्रस्त भएका थिए र उनीहरूको डीएनए नमूनाहरू पहिचानको लागि पठाइएको थियो। कुल ८१ शवमध्ये २९ वटाको मात्र डीएनए नमूना मिलान गर्न सकिएको छ।
उडिसाराज्यको राजधानी भुवनेश्वरको एक अस्पतालमा करिब २८ दिनदेखि शव राखिएको छ। भुवनेश्वर महानगरपालिकाका मेयर सुलोचना दासले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘धेरै दावेदारहरू थिए त्यसैले शव दिन सकिएन। नमूना दिल्ली पठाइएको थियो र २९ जनाको मात्र नमूना पुष्टि भएको छ।’


