काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा थप तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप तीन जनालाई पक्राउ गरेको हो।
ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालीन वडा नम्बर ५ का सचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की छन्।
यही प्रकरणमा असार १२ गते ७ जना पक्राउ परेका थिए। तर तीन जनालाई भने अदालतले स्टे अर्डर दिएपछि रिहा गरिएको छ। स्टे अर्डर लिएर बसेका कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको छ।
अहिले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की प्रहरी हिरासतमा छन्। उनीहरूलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले सात दिनको म्याद दिएको छ।
कार्कीबाहेक तीन जना (शाह, गुरुङ र गौतम)ले बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका थिए। सर्वोच्चले बन्दीको रिट लिएर पुगेका तीन जनालाई थुनामा राख्नुपर्ने कारण पेस गर्न सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा १४३ रोपनी जग्गा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ।
सीआईबीले लामो अनुसन्धान सकेर २०७८ साल पुसमा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भनेर पुस २२ गते प्रतिवेदन फिर्ता पठाएको थियो। प्रतिवेदन फिर्ता पठाएपछि अहिले सिआइबीले पुन: अनुसन्धान गरी यसमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हो।


