काठमाडौं– जलतथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्म मुलुकभरका अधिकांश स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार यतिबेला सुदूरपश्चिम, लुम्बिनी, मधेस, बागमतीलगायतका प्रदेशमा मध्यम खाले वर्षा भइरहेको छ।
महाशाखाका मौसमविद् वरुण पौडेल समग्रमा देशभरै वर्षा भइरहेको र यो क्रम आगामी शुक्रबारसम्म निरन्तर रहने देखिएको बताउँछन्। काठमाडौं उपत्यकाका पनि विभिन्न स्थानमा अहिले वर्षा भइरहेको उनले बताए। ‘आज मौसम खुल्ने सम्भावना निकै कम छ। दिउँसो केही बेर खुले पनि फेरि वर्षा हुने सम्भावना छ। दिउँसो अलि कम र राती बढी वर्षा हुनेछ,’ उनले भने।
महाशाखाले आगामी २४ घन्टा बिहीबार बिहान ६ बजेसम्मका लागि चेतावनी जारी गरेको छ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने महाशाखाको पूर्वानुमान छ। महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि शुक्रबारसम्म निरन्तर वर्षा हुनेछ।
बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा झरी पर्नेछ। केही स्थानमा स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। आगामी शुक्रबार कोसी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही ठूलो झरी पर्नेछ भने तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।


