काठमाडौं- नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओका लागि बैंकखातामा भएको भन्दा बढी रकमको आवेदन दिनेविरुद्ध जालसाजी मुद्दा चलाउने तयारी गरेको छ। घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि असार ४ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकोमा बढी रकमको आवेदन दिएकाहरूलाई मुद्दा चलाउनका लागि नेपाल प्रहरीलाई लेखी पठाउने निर्णय बोर्डले गरेको हो।
केही आवेदकले बैंक खातामा रहेको रकमभन्दा बढीको आवेदन दिएको भन्दै बोर्डले आइपीओ स्थगित गरी छानबिन अगाडि बढाएको थियो। सो सम्बन्धमा छानबिन गर्नका लागि बोर्डले जाँचबुझ समिति बनाएको थियो। उक्त समितिले बुझाएको प्रतिवेदनका आधारमा जालसाजी मुद्दा चलाउन नेपाल प्रहरीलाई आग्रह गर्ने निर्णय धितोपत्र बोर्डले गरेको छ।
‘केही लगानीकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रमा रकम नहुँदा नहुँदै सर्वसधारण लगानीकर्तालई भ्रमित पार्ने उद्देश्यले अस्भाविक रुपमा ठूलो कित्ता शेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदनहरु निष्काशनकर्ता कम्पनी र निष्कासन तथा विक्री प्रबन्धक संचालक र कम्पनीहरुसँग कुनै सम्बन्ध नदेखिएको तर उल्लेखित आवेदकहरुले सर्वसाधारणलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकाले जालजाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानबिनका लागि सिफारिस गर्ने,’ धितोपत्र बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
गोरखाकी सावित्रा पराजुली, रुपन्देहीकी लक्ष्मी घिमिरे, मोरङकी मुना खत्री र चितवनका मनोज पाठकले खातामा पर्याप्त पैसा नभई आवेदन दिएका थिए। यी व्यक्तिहरूले १० लाख कित्ताको दरमा आवेदन दिएका थिए।
खातामा पर्याप्त रकम नभई १० लाख कित्तासम्म आवेदन दिनेमा सुनसरीका मिथिलेशकुमार मेहता, दोलखाका नवीन खत्री, ललितपुरका अनिल राना, पर्वतकी रञ्जना ढकाल पौडेल र काठमाडौंकी सुमित्रा बम पनि रहेका छन्।



