काठमाडौँ- घोराही सिमेन्ट आईपीओ निष्कासन प्रकरण तीन संस्था छानबिनमा तानिएका छन्। यो प्रकरणमा एनआईसी एसिया बैंक, घोराहीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छानबिनमा तानिएका हुन्। धितोपत्र बोर्डले यी तीन संस्थामाथि छानबिन गर्ने निर्णय गरेको हो।
आस्वा सदस्यको रुपमा रहेको एनआईसी एसिया बैंकले आवेदकको खातामा आवेदन गरिएको रकमभन्दा न्यून रकम हुँदाहुँदै पनि स्वीकृत गरेको थियो। यसले आशंका पैदा गरेको भन्दै बोर्डले छानबिन गर्ने उल्लेख गरेको हो।
‘आस्वा सदश्य एनआईसी एसिया बैंक लिमिटेडले आवेदन खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो सो सम्वन्धमा थप छानबिन गरी आवश्यक कारवाही अगाडि बढाउने’, बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा रहेका हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड मागभन्दा बढीका लागि आवेदन परे पनि समयवधि थप गर्न सूचना प्रकाशित गरेकाले छानबिनमा तानिएका हुन्।
‘निस्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिद लागि आवेदन परेको आवस्थामा समेत समयवधिमा थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत छानबिन गर्ने’ बोर्डको भनाइ छ।


जेठ ३२ बाट असार ४ गतेसम्म घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्कासन गरेको सेयरमा आवेदकले बैंक खातामा भएको रकमभन्दा बढी आवेदन दिएपछि धितोपत्र बोर्डले सेयर निष्काशन स्थगित गरी छानबिन अगाडि बढाएको थियो। धितोपत्र बोर्डले एक जाँचबुझ समिति गठन गरी यो प्रकणको छानबिन गरेको थियो। उक्त कमिटीले बुझाएको प्रतिवेदनका आधारमा घोराहीका संचालक तथा कर्मचारीको यस प्रकरणमा कुनै सम्बन्ध नरहेको बोर्डको दाबी छ।
यस्तै बैंक खातामा जम्मा रहेको रकमभन्दा बढी आवेदन दिने आवेदनकर्तालाई भने जालसाजी मुद्दामा कारबाही अगाडि बढाउने निर्णय गरेको छ। साथै यस प्रक्रियामा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक र सेयर निष्कासनमा आवेदन दिने लगानीकर्ताको घोराही सिमेन्टसँग प्रत्यक्ष सम्बन्ध नदेखिएकाले सर्वसाधारण आवेदनकर्ताले दिएको ३ अर्ब ६१ करोड र वैदेशिक रोजगारीमा रहेका तथा उद्योग प्रभावित क्षेत्रले दिएको थप २९ करोड ४८ लाख रुपैयाँ बराबरको रकम रकमान्तर भइसकेको तथा आर्थिक वर्षको अन्तिम समय रहेकाले आवेदन फिर्ता लिन, थपघट् गर्न वा खारेजी गर्ने सुविधा बोर्डले दिने निर्णय गरेको छ।
सेयर आवेदन फिर्ता लिन, थपघट गर्न वा खारेजी गर्नका लागि बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले ३ दिनको समय दिएको छ। धितोपत्र निष्कासन सम्बन्धी व्यवस्थानुसार बढीमा १५ दिनसम्म धितोपत्र बिक्री खुला राख्न पाउने व्यवस्था छ। जेठ ३२ देखि असार ४ गतेसम्म आवेदन खुला गरिएकाले ५ दिन समय व्यतित भइसकेको छ। उक्त ५ दिनका अतिरिक्त प्रबन्धकले तोक्ने ३ दिनमा पनि मागअनुसार आवेदन नपरेको खण्डमा कम्पनीले थप ७ दिनका लागि आवेदन खुला राख्न पाउने छ।
कम्पनीले प्रिमियमसहित प्रतिसेयर ४३५ रुपैयाँका दरले आईपीओ बिक्री गरिरहेको छ। सर्वसाधारणको लागि कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको छ।


