काठमाडौं– एभरेष्ट बैंकले वीरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिक तहको विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ।
वीरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसँग बस्दै आएका तिनका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने उद्देश्यले भवन मर्मत तथा रङरोगन प्रयोजनका लागि बैंकले २ लाख आर्थिक सहयोग गरेको हो।
बैंकका मधेस प्रदेश प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उक्त रकमको चेक हस्तान्तरण गरे। यसबाट कैदीबन्दीका छोराछोरीलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास बैंकको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जनलगायत कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ। बैंकले हाल १२६ शाखा, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६१ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।


