काठमाडौं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेन र बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस एनरिकेलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ। क्लबले क्रिस्टोफर गाल्टियरलाई रिप्लेस गराउँदै ४३ वर्षे स्पानिस प्रशिक्षक एनरिकेलाई नियुक्त गरेको हो।
पिएसजीले फ्रेन्च लिग वानको उपाधि जिते पनि पीएसजीले एक सिजनपछि नै गाल्टियरलाई बर्खास्त गरेको थियो। यता एनरिकेले भने फ्रेन्च च्याम्पियनसँग दुई वर्षको सम्झौता गरेका छन्। अब एनरिके सन् २०२५ सम्म पेरिसमा रहने भएका छन्।
यसअघि उनी स्पेनको राष्ट्रिय टिमका मूख्य प्रशिक्षक भएका थिए। तर उनको टिमले कतारमा सम्पन्न भएको फिफा विश्वकपमा अफ्रिकन टिम मोरोक्कोसँग हार बेहोरेको थियो। मेरोक्कोसँग पेनाल्टीमा हार बेहोरेपछि एनरिके धेरै आलोचितसमेत बनेका थिए। त्यसपछि उनले स्पेनको टिम छोडेका हुन्।
यद्यपी उनले स्पेनको प्रतिष्ठत फुटबल क्लब बार्सिलोनाको प्रशिक्षकको रुपमा धेरै सफलता प्राप्त गरेका छन। सन् २०१४ देखि २०१७ सम्म उनले बार्सिलोनामा ९ उपाधि जितेका थिए। यस्तै उनले बार्सिलोनालाई आफ्नो पहिलो सिजनमै ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग जिताएका थिए। उनले बार्सिलोनालाई ट्रेबल जिताउँदा अहिलेको पिएजसीका खेलाडी नेयमार बार्सिलोनामै थिए। त्यसपछि उनी सन् २०१८ मा फर्नान्डो हिएरोलाई रिप्लेस गर्दै स्पेनको प्रशिक्षक बने।
चार वर्ष स्पेनको राष्ट्रिय टिमको प्रशिक्षक रहँदा उनले स्पेनलाई नेसन्स लिगको फाइनल र युरो कपको सेमिफाइनलमा पुर्याएका थिए। तर उपाधि भने दिलाउन सकेनन्। यता पीएसजीको टिम भने अहिले निकै ट्रान्जिसनल अवस्थामा रहेको छ। त्यसैले अहिले रियल मड्रिड र बार्सिलोनाका यी पूर्व मिडफिल्डरले टिम सम्हाल्न आइपुगेका हुन्। उनी आएपछि क्लबका स्टार केलियन एमबाप्पे र नेमारको भविष्य के होला भन्ने मुख्य प्रश्न टाढा हुने विश्वास गरिएको छ।
यता क्लबका अर्का स्टार लिओनल मेस्सी भने पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्।
युरोपको निकै बलियो क्लब मानिएको भए पनि उसले युरोपेली च्याम्पियन्स लिग भने जितेको छैन।


