काठमाडौं– बुधबार प्रतिपक्षी एमालेललायत दलको अवरोधपछि आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपराह्न ३ बजे बस्ने कार्यसूची संसद् सचिवालयले बनाएको छ। तर, एमालेले गत सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन कार्यक्रममा नेपालमा प्रधानमन्त्री बन्न दिल्ली धाउनुपर्ने विवादास्पद अभिव्यक्तिको जवाफ माग्दै आज पनि संसद् अवरुद्ध गरिने बताएको छ। बिहीबार पनि एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको थियो।
प्रतिपक्षीको सदन अवरोधकै कारण मिटरब्याजी विधेयक निस्क्रिय हुँदा २४ हजार पीडितका निवेदन रद्दीको टोकरीमा पर्ने चिन्ता बढेको छ। एमालेले संसद् बैठक मात्र अवरुद्ध गरेको छैन, प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनैपर्ने एकसूत्रीय अडान लिएको छ। यस्तोमा आजको बैठक पनि अवरुद्ध हुने देखिएको छ। बिहीबार बसेको सत्ता गठबन्धन दलको बालुवाटारे बैठकले प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा पनि दिनु नपर्ने र उनीबाट गत सोमबार व्यक्त विवादास्पद विचारबारे पनि क्षमा माग्नु नपर्ने भनेर सफाइ दिएको छ।
आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ। विधेयक प्रस्तुत गर्न अनुमति प्रस्तावमाथि सांसदद्वय ज्ञानबहादुर शाही र प्रेम सुवालबाट प्राप्त विरोधका सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालको सूचनामा भनिएको छ। आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन्।
त्यस्तै, राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक,२०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरी विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। त्यसपछि उक्त विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
एमाले नेता एवं सांसद गोकर्ण विष्टले प्रधानमन्त्री प्रचण्डले विवादास्पद अभिव्यक्तको एक–एक जवाफ नदिउन्जेल संघीय सदनका कुनै पनि बैठक चल्न नदिइने बताए। उनले प्रधानमन्त्री हुन दिल्ली जानुपर्ने प्रचण्डको विवादास्पद अभिव्यक्तिले नेपालको सार्वभौमसत्तासम्पन्न संसद्को अपमान भएकाले जवाफ र राजीनामा मागिएको बताए। उनले भने, ‘प्रधानमन्त्री प्रचण्डलाई सत्ता गठबन्धन र उनको दलले सुनपानी छर्के पनि एमाले मान्नेवाला छैन। हामीले सबै कुराको जवाफ मागेका छौं। चित्त नबुझुन्जेलसम्म संसद् चल्न दिन्नौं।’ एमालेले प्रधानमन्त्रीको राजीनामा एकसूत्रीय एजेन्डा बनाएपछि आजको संसद् अवरोध कायमै रहने संकेत देखिएको छ।
प्रचण्डको प्रधानमन्त्री हुन दिल्ली दौडिनुपर्ने विवादास्पद अभिव्यक्तिबारे सत्तारुढ कांग्रेस अहिलेसम्म बोलेको छैन। तर, कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायत सानो संख्याका नेताहरुले प्रधानमन्त्री प्रचण्डले गलत बोलेको बताएका छन्।


