पोखरा- गण्डकी प्रदेशसभाको प्रतीक चिन्ह (लोगो) परिवर्तन हुने भएको छ। प्रदेश सभा नियमावली मस्यौदा समितिले पुरानो लोगोमा व्यापक परिवर्तन गरी नयाँ प्रस्ताव गरेको हो।
हाल सांसदले लगाइरहेको लोगोमा हरियो रङको प्रयोग बढी छ। प्रस्तावित नयाँ लोगोमा पहेँलो रङ तुलनात्मक रूपमा अधिक प्रयोग छ।
गैँडा, मृग देखाएर हालको लोगोमा नवलपुरसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्ज देखाउन खोजिएको छ। नयाँ लोगोमा यसअघि भएका जनावर र चरा हटाइएको छ।
लोगो परिवर्तनसहितको मस्यौदा समितिका संयोजक सांसद बिन्दुकुमार थापाले मंगलबार प्रदेश सभामा पेस गरेका थिए।
प्रदेश सभामा रहेका ४ समितिको संख्या कायम राख्दै समितिको नाम र जिम्मेवारी हेरफेर गरिएको नियमावली मस्यौदा तयार भएको हो। प्रदेश सभामा पेस विधेयकमाथि सबै सदस्यले छलफल गर्ने र सुझाव पेस गर्ने विधायन समिति हट्ने भएको छ।
अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास तथा कृषि समिति प्रस्ताव गरिएको छ। सरोकारवालाहरुसँगको बृहत छलफलपछि मस्यौदा बनाएको सभापति थापाले जानकारी दिए। गण्डकी प्रदेश सभा नियमावली २०८० को मस्यौदा प्रदेश सभामा पेस भएर मंगलबार सामान्य छलफलसमेत भएको छ।
नियमावलीमा मुख्यमन्त्रीसँग प्रत्येक महिनामा एकपटक सांसदहरुले प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको छ। २०७४ मा ल्याइएको नियमावलीको परिच्छेद ९ मा प्रश्न र ध्यानाकर्षणको प्रबन्ध गरिए पनि प्रयोगमा आउन सकेको थिएन।
सभामुख, उपसभामुख र संसदीय समितिका सभापतिको पद रिक्त भए १५ भित्रै निर्वाचन गर्नुपर्ने विषय नियमावलीमा उल्लेख गरिएको छ। नयाँ नियमावली २२ गतेको प्रदेश सभा बैठकबाट पारित गर्ने योजना छ।


