काठमाडौंँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिरहेको एमालेको विरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ। सभामुख, सत्तापक्ष र प्रतिपक्षका नेता सहभागी संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि सहमति निकाल्न नसकेपछि बैठक स्थगित भएको हो।
शुक्रबार दिउँसो ३ बजे बैठक बस्ने भनिएको भएपनि सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि आइतबारसम्मका लागि स्थगित गरिएको छ। अब प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने तय भएको छ।
बैठकमा सत्तापक्षले आफूहरु पनि बोल्न पाउनुपर्ने अडान राखेका थिए। तर प्रतिपक्षले आफूहरुले उठेर विरोध गर्ने अडान राखेपछि विना निष्कर्ष बैठक सकिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटकपटक भारतको राजधानी दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको छ।



