काठमाडौं–गत बुधबारदेखि प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामालाई एकसूत्रीय अडान बनाएर संसद् अवरोध गर्दै आएको छ। प्रचण्डले सोमबार नेपालमा प्रधानमन्त्री बन्न दिल्ली दौडिनुपर्ने आशयको विवादास्पद अभिव्यक्ति दिएको विरोधमा राजीनामा माग गर्दै एमालेले संसद् अवरोध गरिरहेको हो।
संसद् बैठक खुलाउन सभामुख देवराज घिमिरेले पहल गरिरहे पनि सफलता हात लागेको छैन। सभामुख घिमिरेकै पहलमा आइतबार कांग्रेस, नेकपा माओवादी र प्रतिपक्ष एमाले शीर्ष नेता क्रमशः शेरबहादुर देउवा, प्रचण्ड र केपी ओली सिंहदरबारमा गफिए पनि संसद् अवरोध हटाउने सहमतिमा पुग्न सकेनन्। एमाले–माओवादी नेताबीच संसद् अवरोध हटाउन एकअर्का असहयोगी बनेको आरोप–प्रत्याप चलिरहेको छ।
आइतबार शीर्ष नेताबीच वार्ता गरेर संसद् खुलाउने प्रयासमा बैठक केही बेर स्थगित गरिए पनि निकास ननिस्कएपछि आजका लागि तय भएको छ। तर, आजको बैठक पनि एमालेले अवरोध गर्ने बताएको छ।
संसद् सचिवालयका अनुसार बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो।
आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ। ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमा सांसद ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्नेछन् भने उनैले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मा दफाबार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।
मन्त्री गुरुङले नै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ मा प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्नेछन् भने यसपछि उक्त विधेयक पारित प्रस्ताव पेस गर्ने कार्यसूची छ। एमालेले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफ्नो अडान कायमै रहेकाले आज पनि बैठक चल्न नदिने सम्भावना छ।
आइतबार प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्ति सच्याएर संसद्मा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि एमाले अध्यक्ष ओली प्रतिनिधिसभा बैठक चल्न दिनेमा सहमत भएका थिए। तर, केही बेरपछि एमालेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्तिसमेत फिर्ता लिनुपर्ने नयाँ प्रस्ताव राखेपछि बैठक चल्न सकेको थिएन।


