काठमाडौँ- प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले पुस्तक विमोचन कार्यक्रममा आफूले दिएको अभिव्यक्तिमा गल्ती भएको स्वीकार गरेका छन्। पुस्तक विमोचनमा प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा प्रतिपक्षी दलले ५ दिनसम्म सदन अवरोध गरेपछि सदनमा उभिएर उनले यस्तो जवाफ दिएका हुन्।
‘म थोरै भावनामा आएँ। मनमा आयो भनेँ। त्यसैले त प्रचण्ड हो। त के गर्नुहुन्छ? प्रधानमन्त्रीको रूपमा मैले त्यो भाषा बोल्नुहुन्नथ्यो। त्यो दिन म ज्ञानु (प्रचण्डकी छोरी, जसको निधन भइसकेको छ। उनको उपचारका क्रममा भारतमा रहँदा प्रितम सिंहसँग कुराकानी भएको प्रसंग उनले यसअघि नै उल्लेख गरेका थिए।) को बुवा भएर बोलेको थिएँ।’
दाहालले गत साता सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्लीसमेत पुगेको धारणा राखेका थिए।


