नयाँदिल्ली- भारतीय कांग्रेस आईका नेता राहुल गान्धीलाई गुजरातको सुरत अदालतले २ वर्ष जेल सजाय सुनाएको छ। चार वर्ष पुरानो मनाहानीसम्बन्धी मुद्दामा गान्धीलाई जेल सजाय सुनाएको हो। लगत्तै उनलाई अदालतले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न समेत आदेश जारी गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘चोर’ शब्द प्रयोग गरी गाली गरेको आरोपमा गान्धीलाई दुई वर्षको जेल सजाय सुनाइएको हो।
अदालतले गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न १ महिनाको समय पनि दिएको छ। सन् २०१९ को लोकसभाको चुनावका क्रममा कर्नाटक चुनावीसभामा गाान्धीले मोदी थरप्रति गरको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो।
सुरत अदालतमा सुनवाईका क्रममा गान्धी पनि उपस्थित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
राहुल गान्धीले आफ्नो भनाइबाट कुनै पनि समुदायलाई चोट पुर्याउन नचाहेको गान्धीका वकिलले सञ्चारमाध्यमलाई जानकारी गराएका थिए।


