काठमाडौँ- नेकपा एमालेको विरोधका कारण ५ दिनसम्म संसदमा अवरोध भयो। संसदको अवरोध खुलाउने सत्तापक्षलाई यो समय लागेको थियो। सोमबारको बैठक सुरु हुने बित्तिकै प्रतिपक्षका सांसदहरूले उठेर विरोध गरेका थिए। यसपछि प्रतिपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदलाई सभामुख देवराज घिमिरेले बोल्नका लागि समय दिए।
यसअघि सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले भूमिका खेलको बताएका थिए। आफूलाई प्रधानमन्त्री बनाउने शिलशिलामा नै सिंह पटकपटक दिल्ली पुगेको उनले उल्लेख गरेका थिए। यही विषयलाई प्रतिपक्षी दलहरूले सार्वभौमिकतासँग जोडेर विरोध गरेपछि सदन अवरुद्ध भएको थियो।
एमाले सांसद गोकुल बाँस्कोटाले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न भने, ‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्यो। प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रो लागि स्वीकार्य भएन। देशको लागि स्वीकार्य भएन। चारतारे लालतारे झण्डालाई जेसुकै होस् तर चन्द्र सूर्यको लागि स्वीकार्य भएन।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिलाई लिएर तीन दलका कारण सदन अवरोध भएपछि उनीहरुले विरोध जनाए। रविको प्रश्न थियो, ‘यो संसद ३ दलले बन्धक बनाउन मिल्छ ? उनीहरुले जे गर्यो त्यही हो ? अरु माननीय चाहिँ केही होइन?’

राप्रपाका अध्यक्ष लिङ्देनले तीन दलको नेता बसेर गर्ने सबै निर्णय मान्य नहुने बताए। ‘संसद्मा केही दल मात्र छैनन्। तमाम दलहरू निर्णायक अवस्थामा छन्। ३ दलका ३ नेता बसेर सबै राजनीतिक विषयमा निर्णय गरे हाम्रा लागि मान्य हुन्न। कोही कसैको निर्णयको भारी बोकेर हिँड्न तयार छैन।’ उनले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने समेत उल्लेख गरेका थिए।
उनीहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामान्य विषय उठ्ने बित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताए।
लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उनले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताए। प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्नसमेत गरे। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले मतभेदका पनि आफ्ना सीमा र मर्यादा रहेको बताए।
प्रधानमन्त्री दाहालले भने, ‘मतभेदका पनि आफ्ना मर्यादा हुन्छ, आवेग र हतारमा टिप्पणी नगरौँ।’ दलगत स्वार्थको परम्परागत प्रदर्शनबाट जनता आजित भइसकेको कुरालाई नबिर्सन समेत उनले आग्रह गरे। प्रधानमन्त्री दाहालले स्पष्टीकरणको मौका नदिई लगातार राजीनामा मागिनु संसदीय मर्यादाभित्र नरहेको स्पष्ट पार्नुभयो। उनले भने, ‘तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो? म सुरुदेखि स्पष्ट पार्न बसेको थिए। मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन।’
प्रतिपक्षलाई प्रश्न उठाउने हक भएको उनको भनाइ छ। उनले भने, ‘राजीनामा नदिएसम्म संसद् चल्न दिँदैनौँ किन भनियो? के यही हो संसदीय अभ्यास? प्रतिपक्षलाई हक छ म मान्छु। उनहरूले प्रश्न उठाउन सक्नहुन्छ। नैतिकताको प्रश्न उठाउन पाइन्छ।’
संसद्मा पटक पटक नैतिकताको विषय उठेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘नैतिकताका कसले देखायो, कसले देखाएन, म इतिहास हेर्न अनुरोध गर्दछु।’ विगतमा आफूले दुई पटक नै नैतिकताको धरातलमा टेकेर राजीनामा दिएको उनले स्मरण गरे। उनले कोही कसैले भनेकै आधारमा राजीनामा नदिने बरु आफ्नो अन्तरआत्माले भने एक मिनेट पनि पदमा नबस्ने स्पष्ट पार्नुभयो। प्रधानमन्त्री दाहालले भने, ‘तपाईँहरुले भनेकै आधारमा राजीनामा म दिन्न, तर मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा बस्दिनँ।’

आफू प्रधानमन्त्रीको पदमा रहँदासम्म देश, जनताको पक्षमा काम गरेर देखाउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री दाहालले सरकार मिटर ब्याज पीडितको पक्षमा रहेको र यो विषय धेरै पहिल्यैदेखि उठेको बताए। उनले परिवर्तनको रक्षा, सुशासन र शान्ति, बृहत्तर राष्ट्रिय हित र राष्ट्रियता एवं सार्वभौमसत्ताको विषयमा आफू प्रतिबद्ध रहेको र त्यसमा निष्ठावान रहेको दोहोर्याउनुभयो। उनले प्रितम सिंहका बारेमा लेखिएको पुस्तक विमोचनमा क्रममा व्यक्त भएका भाषाप्रति दुःख व्यक्त गरे।
सिंहको विषयमा लेखिएको पुस्तक विमोचनका कार्यक्रममा बोल्ने क्रममा आफूले छोरी ज्ञानु बेडमा सुतिरहेको सम्झिएको बताए। प्रधानमन्त्रीले भने, ‘यहाँहरु सबैलाई थाहा छ, म सेन्टिमेन्टल छु। यही त प्रचण्ड भयो अब गर्नुहुन्छ के? थोरै भावनामा आएँ। मैले त्यो नभनेको भए हुन्थ्यो, तर मनमा आयो, मैले भनेँ।’
प्रधानमन्त्रीको रुपमा आफूले त्यस्तो नबोल्नुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भने ‘म त्यो दिन प्रधानमन्त्री भएर बोलिनँ। म ज्ञानुको बुबा भएर बोल्न पुगेँ। त्यो सेन्टिमेन्ट सम्झिन पुगेँ। प्रितम सिंहको सदासयताको निम्ति धन्यवाद दिन पुगे।’ उनले आफ्नो स्वभावजन्य भावुकताका लागि आत्म समीक्षा गरेको बताए। प्रधानमन्त्री प्रचण्डले आत्म समीक्षासँगै आफूका बारेमा प्रश्न उठाउनेमाथि पनि थप केही प्रश्न गरे। ‘यसबीचमा प्रश्न उठाइयो, मलाई प्रधानमन्त्री कसले बनायो? नेपालमा प्रधानमन्त्री कसले बनाउँछ भन्ने किसिमले प्रश्न उठ्यो। म यो प्रश्न उठ्दै गर्दा मभित्र धेरै कुरा खेले। मलाई प्रधानमन्त्री बनाउन लिखित रूपमा हस्ताक्षर गर्नेहरूबाटै यो प्रश्न आएको देख्दा म गम्भीर भएको छु’, उनले भने।
आफू प्रधानमन्त्री कुन परिवेशमा भए भन्ने कुरा सबैभन्दा बढी हेक्का प्रमुख प्रतिपक्षी दलका प्रमुख नेतालाई थाहा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘कसले रोक्न खोजेको थिए भन्ने थाहा हुँदाहुँदै अहिले राष्ट्रपतिलाई आफैँले लेखेको पत्रको यति ठूलो अवहेलना हुने गरी प्रश्न कसरी उठाइयो भन्नेमा मभित्र प्रश्न उठेको छ।’
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिएको छ। राष्ट्रियसभाका पूर्वसदस्य लालकाजी गुरुङको निधनप्रति पनि बैठकले शोक प्रस्ताव पारित गरेको छ। विसं २०४८ मा नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित गुरुङको यही असार २३ गते निधन भएको थियो।
प्रतिनिधिसभाको अर्को बैठक यही असार २९ गते शुक्रबार अपराह्न १ बजे बस्नेछ।


