काठमाडौं – ओमेगा च्याम्पियनसिप नाम दिएको मिक्स्ड मार्सलआर्टस प्रतियोगिता आउदो जुलाई १५ (असार ३० गते) मा नेपालमै पहिलो पटक आयोजना हुने भएको छ। काठमाडौंमा आयोजक ओमेगा फाइट टिमले मंगलबार पत्रकार सम्मेलन गर्दै पहिलो पटक हुन गइरहेको ओमेगा च्याम्पियनसिपबारे जानकारी दिएको हो।
प्रतियोगितामा प्रोफेसनल र एमेच्योर गरेर दुई फरक फरक विधामा प्रतियोगिता हुनेछ। फ्रोफेसनलमा तीन खेल हुने भए पनि नेपालमा एक मात्र प्र्रोफेसनल खेलाडी रहेका छन्। ‘नेपालमा प्रो खेलाडी धेरै छैनन्। यहाँको मिक्स्ड मार्सल आट्र्स समूदाय पनि सानो छ। मैले आफ्नै देशमा यो प्रतियोगिता खेल्न पाउँदा निकै खुसी महशुस गरेको छु,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रो खेलाडी कोशिश श्रेष्ठले भने।
उनले प्रोअन्तर्गत भारतका विकी ग्वाडसँग प्रतिस्पर्धा गर्नेछन्। प्रोका बाँकी दुई खेलमा भने भारतकै खेलाडी रहेका छन्।
२० खेलाडी सहभागी रहेको प्रतियोगिता अन्तर्गत प्रोमा भारतका पाँच र एमेच्योरमा तीन खेलाडी गरि ८ खेलाडी सहभागी छन्। बाँकी खेलाडी चाहिँ नेपालकै हुन्।
प्रोतर्फ हरेक खेलमा सहभागी हुने खेलाडीले १५ हजार पाउनेछन् भने बाउट जित्ने खेलाडीले थप १५ हजार बोनसस्वरुप पाउने छन्। यता एमेच्योर खेलाडीले भने सहभागी हुँदा सात हजार र बाउट जितेपछि थप सात हजार पाउने छन्।
त्यस्तै, प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कार र मेडलको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। आउँदो असार ३० गते हुने प्रतियोगितामा एमेच्योरका सात खेल हुनेछन् जसमा १४ खेलाडीको सहभागीता रहेको छ।
अनमोल बेन्क्वेटमा हुने प्रतियोगिता साँझ साढे ५ बजेबाट राति १० बजेसम्म सञ्चालन हनेछ। सिजन १ भनिएको यो च्याम्पियनसिप नेपाली खेलाडीका लागि मिक्स्ड मार्सल आर्ट्समा अवसर प्रदान गर्नका लागि आयोजना गरिएको आयोजकको भनाई छ।
मार्सलआट्स शारिरिक चोटपटक लाग्ने सम्भावना भएको खेल रहेका कारण डाक्टरका दुई टोली प्रतियोगितास्थलमा हुनेछन् र प्रतियोगिता स्थलमा दुई एम्बुलेन्ससमेत स्टेनबाई हुनेछन्।

त्यस्तै, युएफसी(अल्टिमेट फाइट च्याम्पियनसिप) को अवधारणाको आधारमा यसको शैली पनि निर्धारण गरिएको छ। एमेच्योरतर्फ तीन मिनेटका तीन चरण हुनेछन्। त्यस्तै, प्रो तर्फ भने पाँच मिनेटका तीन चरण हुने आयोजकले जानकारी दिएको छ। आयोजकले मध्यम स्तरको प्रतियोगिता भनेको च्याम्पियनसिप आयोजनाकालागि नेपाल मिक्स्ड मार्सलआट्र्स संघले मान्यता दिएको छ। र यो प्रतियोगितालाई संघले नियमन गर्ने आयोजकले बताएको छ।
‘मैले यो प्रतियोगिताका लागि साढे एक महिनाको तयारी गरेको छु। नेपालमा यसको राम्रो सुरुआत भएको छ। खुसी लागेको छ। म यो प्रतियोगिता जित्न चहान्छु,’ च्याम्पियनसिपमा रहभागी एकमात्र प्रो नेपाली खेलाडी कोशिसले भनेका छन्।
उनले प्रोअन्तर्गतको खेलमा भारतका विकीसँग खेल्नेछन्। ‘अब नेपाल भारतको प्रतिद्वन्दीता जहिल्यै जुनै खेलमा हुन्छ भन्दा पनि मैले यसलाई एउटा फाइटको रुपमा लिएको छु। विशेषगरि नेपालमै खेल्न पाउँदा खुसी छु,’ उनले भने।
यता विकीले भने भारतबाहिर खेलेका छैनन। उनी भन्छन्, ‘भारत बाहिर पहिलो पटक खेल्दैछु। मैले नेपालमै बसेर अभ्यास गरिरहेको छु। यहाँको वातावरण पनि राम्रो लाग्छ। मैले यो प्रतियोगिताका लागि धेरै मेहेनेत गरेको छु,’ उनले भने।
सहभागी हुने खेलाडीले प्रतियोगिताअघि आफ्नो स्वास्थ्य जाँच गराउनु पर्ने हुन्छ। र, प्रतियोगितामा दौरान चोटपटक लागे बीमाको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।


