काठमाडौं– २०५२ देखि चलेको सशस्त्र हिंसालाई विसर्जन गराएर शान्ति सम्झौता (२०६३) पछि राजनीतिक रुपमा अस्थिर हुँदै गएका आर्किटेक्ट इन्जिनियर पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मूल माओवादी छाडेपछि हालसम्म पाँच वटा दलमा रहेर प्रयोग गरिरहेका छन्। पछिल्लो समय नेपाल समाजवादी खोलेर संगठन विस्तार अभियानमा खटिएका बाबुरामले पार्टीलाई संगठनात्मक रुपमा मुलुकभर बलियो बनाउने दाबीसमेत गरेका छन्।
बाबुरामले ३० फागुन २०६९ मा आफ्नो पद र पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका थिए। राजीनामा अगाडि उनी माओवादी पार्टीका वरिष्ठ स्थायी समिति सदस्य र उपाध्यक्ष थिए। त्यसपछि नयाँ शक्ति पार्टीलाई जन्म दिएर संयोजकको रूपमा काम गरे। २०७६ मा नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालको एकीकरणबाट बनेको नवगठित समाजवादी पार्टी, नेपालको संघीय परिषद् अध्यक्ष। पछि समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल गठन भएको थियो। जसपामा पनि बस्न सकेनन् र बाबुरामले पछिल्लो समय नेपाल समाजवादी पार्टी अध्यक्षको रुपमा जिम्मेवारी सम्हालिरहेका छन्।
बाबुरामलाई जसपाले पार्टीबाट निष्कासित गरेपछि १२ साउन २०७९ जनता समाजवादी पार्टी गठन गरेका थिए। उनै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियानलाई अगाडि बढाउने भएको छ। बाबुरामले समाजवादी मोर्चामा हाम नफालेपछि नेसपाले संगठन विस्तारलाई प्राथमिकतामा राखेर १ साउनदेखि ६ महिनासम्म संगठन विस्तार अभियान चलाउन लागेको हो।
पार्टीले विभिन्न प्रदेशमा केन्द्रीय कार्यकारिणी समितिका नेतालाई अभियानको नेतृत्वमा चयनसमेत गरिसकेको छ।
कोसीमा हिसिला यमी, मधेसमा अध्यक्ष महेन्द्र यादव, बागमतीमा गंगा श्रेष्ठ, गण्डकीमा अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनीमा गोविन्द चौधरी, कर्णालीमा भक्तबहादुर साह र सुदूरपश्चिममा दुर्गा सोव र जनक शाहको नेतृत्वमा अभियान सञ्चालन हुनेछ।
अभियानको प्रभावकारिता अनुगमन गर्न समिति पनि बनाइएको छ। राजनीतिक समिति सदस्य महेन्द्र श्रेष्ठको नेतृत्वमा अनुगमन समिति गठन गरिएको हो। नेसपाले जिल्ला–जिल्लामा संगठन विस्तार अभियान सुरु गर्ने अध्यक्ष बाबुरामले बताए। पार्टीले प्रदेशस्तरीय प्रशिक्षण बैठकसमेत गर्ने निर्णय भएको छ। नेसपाका अनुसार कोसीमा १५ साउन, मधेसमा १७, बागमतीमा १९, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा २७ र सुदूरपश्चिममा २९ साउनमा बैठक सञ्चालन गरिने पार्टी नेता नेता विश्वदीप पाण्डेले बताए।
