काठमाडौं– सिंहदरबारमा संघीय प्रतिनिधिसभाअन्तर्गतका विभिन्न तीन समितिको बैठक बस्ने भएको छ। प्रतिनिधिसभाअन्तर्गत विभिन्न समितिका बैठक बसे पनि हालसम्म राजनीतिक भागबन्डाको किचलोले समिति सभापति नियुक्तिमा विलम्ब हुँदै आएको छ।
आज प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविध समितिको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको हो।
कृषि समितिको बैठक बिहान साढे ११ बजेका लागि तय गरिएको छ भने दिउँसो १ बजे पूर्वाधार विकास समितिको बैठक बस्नेछ। बैठकमा भूमि व्यवस्थासम्बन्धी वर्तमान समस्या तथा समाधानलगायत विषयमा मन्त्री र तथा मन्त्रालयका सचिवसँग छलफल गर्ने कार्यसूची तय गरिएको छ।
यस्तै, पूर्वाधार विकास समिति बैठकमा बाढीपहिरोबाट क्षति पुगेका विभिन्न आयोजनाबारे समीक्षा, मेलम्ची खानेपानीलगायतका विषयमा सदस्यबीच छलफल हुनेछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्था, खेल क्षेत्रको विकास एवं समस्या समाधानका लागि मन्त्री र सचिवसँग छलफल चलाइने कार्यसूची सार्वजनिक गरिएको छ।


