काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर जिल्ला लालझाडी गाउँपालिका-४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालय डाङाजाईका प्रधानाध्यापकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष र माटो ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
विद्यालयको हाताभित्रको जमिन सम्याउँदा गैरकानूनी रुपमा उत्खनन गरी माटो स्थानीय ईटा उद्योगहरुलाई बिक्री गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यसरी अवैधानिक तवरबाट माटो खनेर सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएकाले उनीहरूलाई मुद्दा चलाइएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
आर्थिक वर्ष २०७६/०७७ मा र आ.व. २०७७/०७८ मा माटो उत्खनन गरी उनीहरूले स्थानीय इटा उद्योगलाई ७ लाख २९ हजार ५१४ रुपैयाँ ५० पैसामा बिक्री गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना र प्रअ सुरेन्द्र बहादुर बोहरा विरुद्ध जनही ७ लाख २९ हजार ५१४ रुपैया बिगो मागदाबी गरिएको छ। माटो किन्ने उद्योगका म्यानेजर राजेन्द्रबहादुर भाटविरुद्ध ४ लाख ११ हजार ६०६ र उद्योगका प्रोप्राइटर धनबहादुर विष्टविरुद्ध ३ लाख १७ हजार ९०८ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
