इस्लामावाद- मंगलबार गएको भूकम्पमा परी पाकिस्तान र अफगानिस्तानमा मृत्यु हुनेको संख्या १९ पुगेको छ। ६.५ म्याग्निच्युडको भूकम्पमा परी २ सयभन्दा बढी घाइते भएका छन्।
मंगलबार पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। अमेरिकी भौगर्भिक सर्भेका अनुसार १८७.५८९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु हो।
भूकम्पमा परी अफगानिस्तानमा १० व्यक्तिको मृत्यु भएको बताइएको छ भने ९ जना पाकिस्तानबासी छन्।
भूकम्पपछि आपतकालीन प्रतिक्रिया केन्द्रहरू स्थापना गरिएको थियो र उत्तरपश्चिम पाकिस्तानका अस्पतालहरूमा आपतकालीन घोषणा गरिएको थियो।
भारत, उज्विकिस्तान, ताजिकिस्तान, काजाकास्तान, किर्गिस्तान, अफगानिस्तान र तुर्कमेनिस्तानसम्म भूकम्पको कम्पन महसुस गरिएको थियो।
गत जुन महिनामा पनि ५.९ म्याग्निच्युडको भूकम्पमा परी अफगानिस्तानमा १ हजारभन्दा बढीको मृत्यु भएको थियो।



