उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन्। उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भएपनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने बताएका हुन्। गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकुल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताए।
उपप्रधानमन्त्री खड्काले जनताको अपेक्षा अनुसार वर्तमान सरकारले गरिहेको उल्लेख गरे। ‘देशको प्रतिकुल आर्थिक अवस्थामा पनि समग्र कर्णाली, सुर्खेत र म निर्वाचित भएको क्षेत्रमा महत्वपूर्ण विकास योजनाहरु अघि बढेका छन्, ‘जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गर्न प्रतिवद्ध छु,’ उनले भने।
उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजनाहरु निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए। उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना शहर निर्माण गरेर भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर निर्माणको काम अघि बढेको बताउँदै त्यो शहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताए।
रक्षामन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिंचाई, विद्युतीकरण, सडकलगायतका कामहरु गर्ने गरेर भेरी करिडोर सिंचाई विकास योजनालगायतका ठूला विकास योजनाहरु कार्यान्वयन भइरहेको बताए।
