धनगढी- सुदूरपश्चिम प्रदेश सभाले आगामी आवका लागि सरकारले ल्याएको बजेट पारित गरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कार भएपनि सुदूरपश्चिम प्रदेशसभाले बहुमतले बजेट पारित गरेको हो।
शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटसँग सम्बन्धित विधेयक बहुमतले पारित भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।
प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन २०८० बहुमतबाट पारित भएका हुन्। सत्तारुढ दलहरुले नै यथास्थितिमा बजेट पारित गर्न नमानेकाले ती विधेयकहरु संशोधन गरेर पारित गरिएका हुन्।
शनिबार दिउँसो सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट प्रति निर्वाचन क्षेत्र ३ करोडबाट ५ करोड रुपैयाँ पुर्याउने, प्रदेशसभा सदस्यको बजेटमा रकम विनियोजन गर्नेलगायतका सहमति गरेको थियो। यसपछि मात्र सत्तारुढ दल बजेट पारित गर्न तयार भएका थिए।
नेकपा एमालेले तोकिएको समयमा बैठक सुरु नगरेको र कार्यसूचीमा नै नभएको बजेट पारित गर्ने विषय प्रवेश गराइएको भन्दै बहिष्कार गरेको थियो।


