काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पूर्वकर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पदाधिकारी बनाउन रोक्नुपर्ने बताएका छन्। आइतबार फेसबुकमा स्टाटस लेख्दै नेता शिवाकोटीले यस्तो बताएका हुन्।
पूर्वकर्मचारीलाई अख्तियारमा प्रमुख आयुक्त र आयुक्त पुर्याउँदा विवादित भएको शिवाकोटीको भनाइ छ। पूर्वकर्मचारीलाई अख्तियारमा पुर्याउँदा आफूले कर्मचारी भएको समयमा गरेका गतल प्रकृतिका कामको फाइल मिलाउन सक्ने सम्भावना रहेको उनको भनाइ छ। पूर्वकर्मचारीले अख्तियारमा पुगेपछि आफ्नो अख्तियारको दुरुपयोग गरेको उनको भनाइ छ।
‘स्वार्थ बाझिने जान्दाजान्दै अख्तियारमा पुर्याएर पूर्वकर्मचारीलाई अख्तियारकै दुरुपयोग गर्ने लाइसेन्स दिन बन्द गरौं। आफूलाई र आफ्नालाई बचाउने नाममा राजनीतिक संरक्षणमा हुने यस्ता सॉंठगाँठको भण्डाफोर गरौँ। भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि सहकार्य गरौं,’ उनको स्टाटसमा लेखिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तमा पूर्वकर्मचारी ल्याउने कुरामा पूरै स्वार्थ बाझिँदै आएको देखिएको छ। राजनीतिक शक्तिकेन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरू त्यहाँ पुगेपछि आफू कर्मचारी हुँदाको हिसाबकिताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पत्ति कुम्ल्याउन मात्र लागेको एकपछि अर्को घटनाक्रमले देखाएको छ।’


