काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनका लागि लागि २० वटै वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै साउन १ गतेबाट लागू हुने गरी ब्याजदरको कार्टेलिङ खारेज गर्ने सहमति गरेपछि थिए।
‘क’ वर्गका बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघ (एनबीए)ले ब्याजदरमा लामो समयदेखि गर्दै आएको कार्टेलिङ (भद्र सहमति) हटाउने निर्णय गरेको छ। सबै वाणिज्य बैंकले ब्याजदरमा प्रतिस्पर्धा गर्ने भन्दै कार्टेलिङ हटाएका हुन्।
वाणिज्य बैंकहरुसँग मात्रै साढे ४ खर्बभन्दा बढी तरलता रहेकाले निक्षेपतर्फको ब्याजदर घट्ने अडकलबाजी थियो। अधिक तरलताका कारण अन्तरबैंक ब्याजदर ०.४५ प्रतिशत कायम भएको, सीडी अनुपात ८१.७५ प्रतिशत रहेको, ट्रजरी बिल्सको ब्याजदर घटिरहेको सन्दर्भमा १० प्रतिशतसम्म ब्याजदर थपघट गर्न पाउने सीमा रहेकाले ब्याजदर घट्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकले एक पटकमा बढीमा १० प्रतिशत ब्याजदर थपघट गर्न सक्ने व्यवस्था गरिदिएको छ।
साउनमा घटेको निक्षेपको ब्याजदरले भदौ महिनाका लागि कायम हुने बैंकहरुको आधार दर र कर्जाको ब्याजदर घट्न सहयोग पुग्ने अपेक्षा थियो। कर्जाको ब्याजदर घटाउनकै लागि राष्ट्र बैंकले तीन महिनामा मात्रै आधारदर बढाउन/घटाउन मिल्ने व्यवस्थालाई परिवर्तन गरेर प्रत्येक महिना कायम आधारदर घटबढ गर्नुपर्ने नीति लिएको छ।
पछिल्ला तीन महिना कायम भएको औषत आधार दर कायम गरी प्रत्येक महिना बैंक तथा वित्तीय संस्थाले आधार कायम गर्नुपर्ने व्यवस्था छ। राष्ट्र बैंकले समेत आगामी मौद्रिक नीति मार्फत ब्याजदर घटाउने गरी नीतिगत दर हेरफेर गर्ने चर्चा हुँदै आएको छ। माथि उल्लेखित कारणले गर्दा बैंकिङ प्रणालीले नै निक्षेप र कर्जा दुवैको ब्याजदर घटाउनुपर्ने गरिरहेको छ।
मुख्यगरी ठूलो कर्पोरेट हाउस, ठूला सरकारी संस्थानहरू; नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नागरिक लगानी कोष, सामाजिक सुरक्षाकोष, कर्मचारी सञ्जय कोष, सेनाको कल्याणकारी कोष, निजी तथा सरकारी बिमा कम्पनीहरुको संस्थागत निक्षेप आफूतर्फ तान्ने ध्याउन्नमा ती बैंक लागेका छन्।
यद्यपि प्रमुख ५ बैंक भने यस नीतिको विरुद्धमा देखिएका छन्। कार्टेलिङबाट बाहिएको र अन्य बैंकले ब्याजदर घटाइरहेको मौकाको फाइदा उठाउँदै ती बैंकहरुले निक्षेपको ब्याजदर घटाउनुको सट्टा बढाएका छन्। सीडी अनुपात क्रमिक रुपमा सुधार भएपनि ती वाणिज्य बैंकहरु अरु बैंकले ब्याजदर घटाएको मौकामा आफूतर्फ निक्षेप तान्ने रणनीति बुनिरहेका छन्।
व्यक्तिगत तथा संस्थागत निक्षेप खोस्नका लागि एनएमबी, एनआइसी एसिया, प्राइम, नबिल र कुमारी बैंकले ब्याजदर बढाएका छन्। मुख्यगरी ठूलो कर्पोरेट हाउस, ठूला सरकारी संस्थानहरू; नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नागरिक लगानी कोष, सामाजिक सुरक्षाकोष, कर्मचारी सञ्जय कोष, सेनाको कल्याणकारी कोष, निजी तथा सरकारी बिमा कम्पनीहरुको संस्थागत निक्षेप आफूतर्फ तान्ने ध्याउन्नमा ती बैंक लागेका छन्। यसका लागि उनीहरूले ब्याजदर बढाउन प्रतिस्पर्धा गरिरहेका छन्।
साधारण मुद्दतीको ब्याजदर १ प्रतिशत घटाउँदा संस्थागत मुद्दतीको ब्याजदर २ प्रतिशत बिन्दुले घटाउनुपर्ने र रेमिट्यान्समार्फत प्राप्त हुने निक्षेपको ब्याजदरसमेत १ प्रतिशत बिन्दुले घट्ने हुन्छ।
पाँच बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर बढाएरै भएपनि संस्थागत मुद्दतीको ब्याजदर अन्य बैंकको तुलनामा उच्च राख्न सफल भएका छन्। अर्कोतर्फ कुमारी बैंक एनसीसी बैंकसँग मर्जर भएकाले तत्कालीन ४ प्रतिशतको स्प्रेड दर कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छैन। नबिल बैंकको असार २९ गतेबाट समाप्त भएकाले स्प्रेड दर ५ प्रतिशतबाट ४ प्रतिशतमा झार्नुपर्ने बाध्यतात्मक अवस्था छ। जसले बैंकको कस्ट अफ फन्ड घटाउने देखिएको छ। कस्ट अफ फन्ड घट्दा बैंकको आधारदर घट्न गई कर्जाको ब्याजदर घट्ने भएकाले उसले निक्षेपको ब्याजदर नघटाई निक्षेप बढाउने र कर्जाको ब्याजदर घटाउने रणनीति एकैसाथ अवलम्बन गरेको देखिन्छ।
नबिल र कुमारी बैंकको रणनीतिलाई एनआइसी एसिया बैंक, एनएमबी बैंक र प्राइम बैंकले पछ्याएका छन्। यद्यपि प्राइम बैंकको सीडी अनुपात तेस्रो त्रैयमासमा ९० प्रतिशतको हाराहारीमा रहेको थियो। यो आर्थिक वर्षको समाप्त हुँदासम्म यस बैंकको सीडी अनुपात निक्षेप नबढाई माथि जाने अवस्था नरहेकाले निक्षेपको ब्याजदर बढाएर निक्षेप बढाउने र कर्जाको ब्याजदर बढाएर कर्जा रोक्ने रणनीतिमा रहेको देखिन्छ।
यसैगरी सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन्। यी बैंकहरुले असार महिनाकै ब्याजदरलाई नै साउनमा पनि निरन्तरता दिएका छन्।
कुन बैंकमा कति ब्याज पाइन्छ?
सबैभन्दा बढी निक्षेपमा ब्याजदर दिने बैंक एनएमबी बैंक बनेको छ। १० वर्षभन्दा माथिको मुद्दती निक्षेपमा यो बैंकले १०.९८ प्रतिशत ब्याजदर घोषणा गरेको भने संस्थागत मुद्दती निक्षेपमा ३ महिनादेखि १ वर्षका लागि ७.२५ प्रतिशत देखि ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ।
बैंकले ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दतीको ब्याजदर ९ प्रतिशत तोकेको छ। त्यस्तै ६ देखि ९ महिनाका लागि ९.१ र ९ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा ९.२५ प्रतिशत कायम गरेको छ।
त्यसैगरी १ देखि २ वर्ष मुद्दतीमा ९.५ प्रतिशत र २ देखि १० वर्षको मुद्दतीमा ९.७५ प्रतिशत ब्याजदर बैंकले कायम गरेको छ। साधारण बचततर्फ बैंकले ५.९८ प्रतिशत देखि ७.९७ प्रतिशत ब्याजदर कायम गरेको छ।
एनआइसी एसिया बैंकले ३ महिनादेखि १५ वर्षका व्यक्तिगत मुद्दती निक्षेपमा १०.९३ प्रतिशतसम्म र ६ महिनादेखि १५ वर्षसम्मका लागि संस्थागत मुद्दती निक्षेप राख्नेले पनि ८.९३ प्रतिशत ब्याजदर कायम गरेको छ। साधारण बचततर्फ ६.०७३ देखि ८.०७३ प्रतिशतसम्म ब्याजदर दिने घोषणा बैंकले गरेको छ।
प्राइम बैंकले ३ महिनाभन्दा बढीको व्यक्तिगत मुद्दती निक्षेपमा १०.९३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा ८.९३ प्रतिशत र रेमिट्यान्स मुद्दती निक्षेपमा १२.५० प्रतिशत ब्याजदर कायम गरेको छ।
नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याजदर तोकेको छ। ६ महिनादेखि २ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत, ३ महिनादेखि ६ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ९.४९ प्रतिशत र क्युमुलेटिभ फिक्स्ड डिपोजिटमा ९.९९ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ। बैंकले ३ महिनादेखि २ वर्ष संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशतसम्म कायम गरेको छ। दुई वर्षभन्दा बढी अवधिका लागि नबिल रेमिट फिस्ड डिपोजिटको ब्याजदर ११.४९ प्रतिशत कायम गरेको छ।
कुमारी बैंकले ५ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा १०.०१ प्रतिशत ब्याजदर कायम गरेको छ। त्यस्तै, १ वर्षदेखि ५ वषसम्मकोमा ९.९९ प्रतिशत र ३ महिनादेखि १ वर्षसम्मको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९० प्रतिशत ब्याजदिने घोषणा यस बैंकको छ। बैंकले संस्थागत मुद्दतीतर्फ ६ महिनादेखि १ वर्षसम्मका लागि ७.४ प्रतिशत, १ वर्षदेखि ४ वर्षसम्मका लागि ७.४९ प्रतिशत र ५ वर्षभन्दामाथिका लागि ७.५१ प्रतिशत ब्याजदर कायम गरेको छ। संस्थागत बोलकबोलका आधारमा सबै संस्थागत मुद्दतीको ब्याजदरमा ०.५ प्रतिशत थप गर्नसकिने व्यवस्था बैंकले गरेको छ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ, सानिमा, नेपाल बैंक, कृषि विकास बैंकले घटाएका छन्। ब्याजदर घटाएका बैंकहरुले पनि फरकफरक ब्याजदर कायम गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंकले मुद्दतीको ब्याजदर ८.९९ प्रतिशत, प्रभु बैंकले मुद्दतीमा अधिकतम ८.९९ प्रतिशत,एसबीआइले ९.१ प्रतिशत, माछापुच्छ्रे बैंकले ९ प्रतिशत, एभरेष्ट बैंकले ९, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.९५ प्रतिशत, सिद्धार्थ बैंकले ९.५ प्रतिशत, सानिमा ९.५२ प्रतिशत, नेपाल बैंक ८.९९ प्रतिशत र कृषि विकास बैंक ९.५१ प्रतिशतमा झारेका छन्।



