यसै वर्षको जुन महिनामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारधारी एउटा समूह बेलारुसमा तैनाथ राख्नका लागि पठाएका छन्। युक्रेन युद्ध सुरु भएदेखि नै रुसयाले आणविक हतियार प्रयोग गर्ने धम्की दिइरहेको थियो। तर उसले यसरी आणविक हतियार तैनाथ गराएको भने पहिलो पटक हो।
युक्रेनको सीमा नजिकै बेलारुसमा आणविक हतियारलाई तयारी अवस्थामा उसले राखेको छ। पोल्यान्ड र लिथुआनिया जस्ता नेटो देशहरूलाई पनि निशाना बनाउन सकिएला भनेर उसले बेलारुसमा आणविक हतियार तैनाथ गरेको हो। यससँगै ५०० किलोमिटरसम्म आक्रमण गर्न सक्ने मिसाइल र लडाकु विमान पनि पठाइएको छ।
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसको यो कार्यलाई गैरजिम्मेवारपूर्ण भनेका छन्। रुसले युक्रेनको जापोरिजिया आणविक ऊर्जा केन्द्र पनि कब्जा गरेको छ।
वर्तमान बहुध्रुवीय विश्वमा रुसी राष्ट्रपति पुटिनको धम्की मात्र चिन्ताको विषय होइन, चीनले पनि आणविक हतियारको उत्पादनमा अमेरिका र रुससँग बराबरीको प्रयास गरिरहेको छ।
हतियार नियन्त्रण सन्धिहरू जताततै समाप्त भइरहेका छन्। नयाँ सम्झौताहरू हुन सकेको छैनन्।
दुनिया जहानले बीबीसीसँग पोडकास्टमा यसै विषयमा कुराकानी गरेकी छन्। यो अंकमा के विश्वमा परमाणु हमलाको खतरा बढिरहेको हो? यसै विषय चर्चा गरिएको छ।
रूसको आणविक ब्ल्याकमेल
रुसले आफ्नो सार्वभौमसत्ता र अस्तित्वलाई खतरामा परेको महसुस गरेमा निस्सन्देह उसले आणविक हतियार प्रयोग गर्न सक्ने सम्भावना छ।
रुससँग हजारौं आणविक हतियार छन्, जसमा धेरै साना रणनीतिक आणविक वारहेडहरू पनि छन् जुन युद्धको मैदानमा प्रयोग गर्न सकिन्छ। यी केही सामरिक आणविक हतियारहरू हिरोसिमामा प्रयोग गरिएको बमजत्तिकै शक्तिशाली छन्।
बेलारुसमा रूसको आणविक हतियार तैनाथी कति ठूलो चिन्ताको विषय हो भनेर बुझ्न रूसका पूर्व आणविक वार्ताकार र अहिले निशस्त्रीकरण र हतियार ओसारप्रसार रोक्नका लागि भियना केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता निकोसँग बीबीसीले कुराकानी गरेको छ।
पछिल्लो समयको घटनाक्रम आणविक हतियार प्रयोगमा रुसको अडानमा आएको परिवर्तनको सङ्केत भएको उनको विचार छ। यसबारे उनले भने, ‘रुसमा आणविक हतियारको सीमित प्रयोगबारे विज्ञहरूबीच सार्वजनिक बहस भइरहेको छ। तर यसले रुसी सरकारको सोचलाई मात्र झल्काउँछ। यो गम्भीर विषय हो।’
निकोलाई सोकोभ यी हतियारहरूको तैनाथीले युक्रेनभन्दा नेटो सदस्य देशहरूको लागि ठूलो खतरा बनाएको विश्वास गर्छन्।

निकोलाई सोकोभका अनुसार युक्रेन विरुद्धको युद्धलाई रूसमा समर्थक देशबीचको(प्रोक्सी) युद्धको रूपमा हेरिएको छ।
‘त्यहाँ यसलाई युक्रेनको आडमा नाटो विरुद्धको लडाइको रूपमा हेरिएको छ। धेरैले रुसले युक्रेनमा आणविक हमला गर्न सक्छ भन्ने सोचिरहेका छन्,’ उनले भने, ‘तर मेरो फरक मत छ। मलाई लाग्छ कि यो धेरै असम्भव कुरा हो साथसाथै मलाई चिन्ता पनि यो छ कि रूसले नाटोसँगको द्वन्द्वलाई यतिसम्म बढाउन सक्छ कि यसले आणविक द्वन्द्व निम्त्याउन सक्छ।’
यो खतरालाई पश्चिमी देशहरूमा गम्भीर रूपमा लिइएको छ। तर भ्लादिमिर पुटिनले द्वन्द्वलाई यो सीमामा कसरी लैजान्छन् भन्ने कुरा चाहिँ हेर्न बाँकी छ।
‘आक्रमण अचानक हुँदैछ। यो अचानक हुने कुरा पनि होइन। पहिले त्यहाँ साना द्वन्द्वहरू हुनेछन् जसमा परम्परागत हतियारहरू प्रयोग हुनेछन्। यसमा नेटोका ती लक्ष्यहरूलाई लक्षित गर्न सकिन्छ जुन युक्रेन युद्धसँग सम्बन्धित छन्,’ निकोलाई सोकोभ भन्छन्, ‘नेटोले यसमा कस्तो प्रतिक्रिया देखाउँछ, यसले द्वन्द्व कत्तिको चर्काउन सक्छ भन्ने निर्धारण गर्नेछ। रुसले पनि परमाणु परीक्षण गर्न सक्छ, जसले नेटोलाई कडा सन्देश दिनेछ। पोल्याण्डमा आणविक आक्रमणको खतरा बढ्न सक्छ। सन्देश आदानप्रदान भइरहेको छ, तर यो अवस्था विस्फोटक हुन सक्छ।’
उनका अनुसार रुसले द्वन्द्वलाई यति हदसम्म बढाउन चाहन्छ कि त्यहाँ आणविक द्वन्द्वको खतरा छ र नेटो त्यसको डरले पछि हट्नेछ। यो एक परमाणु ब्ल्याकमेल हो।
त्यसो भए प्रश्न उठ्छ कि विश्वले यो आणविक ब्ल्याकमेललाई कसरी सामना गर्नेछ?
चीनको बढ्दो भूमिका र तीन ध्रुवमा बाँडिएको विश्व
रुसको आणविक खतरा र धम्कीप्रति अमेरिकाको निकै नापतैल गरिएको प्रतिक्रिया थियो। तर, अमेरिकी प्रशासनका अधिकारीहरूले रुसले आणविक आक्रमणको तयारी गरिरहेको जस्तो देखिँदैन भनेका छन्।
यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् कि ‘यो वास्तविक खतरा’ हो।
अमेरिकाको वुडरो विल्सन इन्टरनेसनल सेन्टर फर स्कलर्सको अन्तर्राष्ट्रिय सुरक्षा विभागका निर्देशक रोबर्ट लिटवाकले भनेका छन्, ‘अमेरिकी प्रशासनले यो स्पष्ट गरिसकेको छ कि रूसले आणविक हतियार प्रयोग गरेमा गम्भीर परिणाम भोग्नुपर्नेछ। बाइडेन सरकारले भनेको छ कि रुसले सानो रणनीतिक आणविक हतियार प्रयोग गर्छ कि ठूलो बम प्रयोग गर्छ अमेरिकाका लागि दुवैको प्रयोग समान हो। र यसलाई परमाणु हमलाको रूपमा हेर्नेछ।’
बाइडेनका अनुसार उही कुरा रूसले युक्रेनको जापोरिझिया आणविक ऊर्जा प्लान्टको कब्जामा लागू हुने छ। यो प्लान्ट विगत एक वर्षदेखि रुसी कब्जामा छ।
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले त्यहाँ बारुदी सुरंग राखेको बताएका छन्। एकै समयमा, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको रिपोर्ट अनुसार, यस प्लान्ट नजिकै बम विस्फोटका धेरै घटनाहरू भएका छन्।
रोबर्ट लिटवाकका अनुसार अमेरिकाले रुसले आणविक हतियारको प्रयोगको बारेमा पहिले नै भनिसकेको छ कि यदि रुसले त्यसो गर्छ भने यसको गम्भीर परिणाम हुनेछ। ‘मेरो विचारमा, यदि रुसका कारण यो पावर प्लान्टमा दुर्घटना भयो भने, अमेरिकाले यसलाई परमाणु आक्रमणको रूपमा हेर्नेछ र सोही अनुसार कारबाही गर्नेछ,’ उनले भने।
तर के कसैले पुटिनको आणविक धम्कीलाई रोक्न सक्छ? कतिपयले चिनियाँ नेता सी जिनपिङले त्यो भूमिका खेल्ने अपेक्षा गरेका छन्। किनभने चीनले ‘प्रथम प्रयोग नगर्ने’ नीतिको कुरा गरेको छ। अर्थात् द्वन्द्वकालमा पहिले आणविक हतियार प्रयोग नगर्ने बताएको छ।

युक्रेनको राजधानी किभमा क्षतिग्रस्त एक अपार्टमेन्ट।
रोबर्ट लिटवाक भन्छन्, ‘अमेरिकाले युक्रेनविरुद्ध प्रयोग गर्न सकिने हतियार रुसलाई नदिन चीनलाई दबाब दिएको छ। सी जिनपिङले पुटिनलाई भेटेका थिए भने बाँकी देशका नेता पनि त्यहाँ थिए। मलाई लाग्छ कि ती नेताहरूले युक्रेन विरुद्ध कुनै पनि प्रकारको आणविक हतियारको प्रयोगको विरोध गरे। यसले रूसमा केही अंकुश लगाएको छ।’
दोस्रो विश्वयुद्ध पछि, आणविक हतियारको प्रयोग रोकथामको लागि गरिएको अन्तर्राष्ट्रिय सम्झौताहरू भएका थिए। तर अहिले त्यसको समयसीमा सकिएको छ र नयाँ सम्झौतामा हस्ताक्षर भएको छैन। त्यतिबेला दुई महाशक्ति भएकाले द्विपक्षीय सम्झौताबाट द्वन्द्वलाई नियन्त्रणमा राख्न सकिने अवस्था थियो भन्ने लिटवकको भनाइ छ।
अहिले चीन पनि महाशक्ति भएको छ र विश्व त्रिध्रुवीय भएको छ। जसका कारण नयाँ चुनौती पनि थपिएका छन्। द्वन्द्व बढ्ने सम्भावना फराकिलो बन्दै गएको छ। उदाहरणका लागि, युक्रेन युरोपको सुरक्षाको दृष्टिकोणबाट महत्त्वपूर्ण छ। उत्तर पूर्वी एसियामा ताइवान र चीनबीच पनि यस्तै अवस्था छ।
जहाँसम्म चीनको सवाल छ, त्यो १९६४ मा नै आणविक शक्ति बनेको थियो तर अहिले आणविक महाशक्ति बन्दै गएको छ, जसका कारण अन्तर्राष्ट्रिय सन्तुलन र प्रणालीको जटिलता बढ्दै गएको छ।
आणविक हतियारको लागि चीनको दौड
हेनरिक हेम जो नर्वेजियन डिफेन्स इन्स्टिच्युटमा एसोसिएट प्रोफेसर हुन्। अहिले धेरै देशले आफ्नो रक्षा नीतिमा आणविक हतियारलाई बढी महत्व दिइरहेको उनको भनाइ छ।
एसियामा यो तीव्र बन्दै गएको देखिन्छ। उत्तर कोरियाको आणविक परीक्षण मात्र होइन, चीनको आणविक नीतिले अमेरिका र उसका सहयोगीहरूका लागि पनि चुनौती बढाएको छ।
परम्परागत रूपमा, परमाणु हतियारले अमेरिका र चीन बीचको सम्बन्धमा विशेष भूमिका खेलेको छैन। तर अहिले चीनले आफ्नो आणविक हतियारको विस्तार गरिरहेको छ, जसले दुई देशबीचको प्रतिद्वन्द्वी बढाएको छ।
चीनले तीन वर्षअघि आफ्नो आणविक हतियार कार्यक्रम बढाएको थियो, जुन २०२१ मा पत्ता लागेको थियो। शोधकर्ताहरूले पश्चिमी चीनका तीन ठाउँमा मिसाइल ‘साइलो फिल्डहरू ’ बनाइएको पत्ता लगाए। प्रत्येक ठाउँमा १०० भन्दा बढी ‘सिलो’ अर्थात् भूमिगत भवनहरू छन्। त्यसयता आणविक हतियारको भविष्य र अमेरिका र चीनबीचको सम्बन्धलाई लिएर चर्चा चर्किएको छ। केही अनुमानका अनुसार चीनसँग हाल २०० देखि ३०० आणविक वारहेडहरू छन् भने अमेरिकासँग १५०० आणविक वारहेडहरू तैनाथ छन्।
आगामी १०–१२ वर्षभित्र चीनको परमाणु हतियारको संख्या अमेरिकाको बराबर हुने विश्वास गरिएको छ।
हेनरिक हेमका अनुसार, ‘चीन आफ्नो आणविक ढाललाई बलियो बनाउन चाहन्छ ताकि यदि आवश्यक भएमा, ताइवान विरुद्ध आक्रामक कारबाही गर्न सकिन्छ। जसरी रुसले युक्रेनमा गरिरहेको छ।
तर उनले यो पनि भनेका छन् कि यसलाई हेर्ने अर्को तरिका अमेरिकाको आणविक हतियार र अन्य अत्याधुनिक हतियारहरूलाई ध्यानमा राख्दै चीनले अमेरिकासँग कुनै पनि द्वन्द्वको सामना गर्ने क्षमता प्राप्त गर्न चाहन्छ। त्यसैले यदि अमेरिकाले पहिले चीन विरुद्ध परमाणु हतियार प्रयोग गर्यो भने चीनले बदला लिन सक्छ।
चीनको आणविक हतियार कार्यक्रमको विस्तारलाई ध्यानमा राख्दै चीनले आफ्नो ‘नो फर्स्ट स्ट्राइक डोक्ट्रीन’ त्याग्ने तयारी गरेको हुनसक्ने आशंका पनि व्यक्त गरिएको छ। चीनको यो आणविक नीति सन् १९६० को दशकदेखि लागू छ। यस विषयमा आधिकारिक सहमति भएको छैन। बरु यो उनको एकतर्फी आश्वासन हो।
हेनरिक हेमले भने, ‘अमेरिका र रुसले यस प्रकारको ‘नो फर्स्ट स्ट्राइक’ नीति कहिल्यै घोषणा गरेका छैनन्। अमेरिका र रुस दुवैले निश्चित परिस्थितिहरूमा परमाणु हतियारको पहिलो प्रयोगको विकल्प राख्छन्।’
अमेरिका र रुसबीच आणविक हतियार नियन्त्रणका लागि धेरै पटक वार्ता भएको छ। दुई देशबीच यस्तो वार्ताको व्यवस्था गरिएको छ तर अमेरिका र चीनबीच त्यस्तो वार्ता भएको छैन। निकट भविष्यमा पनि यस्ता वार्ता हुने संकेत देखिँदैन।
सहयोग अपेक्षित छ
यस वर्षको सुरुमा रुसले नयाँ स्टार्ट (स्ट्र्याटेजिक आर्म्स रिडक्सन ट्रीटी) मा सामेल नहुने बताएको थियो। यस सम्झौताका कारण १० वर्षभन्दा बढी समयसम्म अमेरिका र रुसबीच लामो दूरीका आणविक हतियारको नियन्त्रण थियो। नयाँ सहमतिका लागि वार्ता हुने सम्भावना न्यून देखिन्छ। यस्तो अवस्थामा परिस्थिति कत्तिको गम्भीर बनेको छ भनेर बुझ्न हामीले रोज गोटेमोलरसँग कुरा गर्यौं।
उनी नाटोको उपमहासचिव भइसकेकी छिन् र हाल अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयको स्पोग्ली इन्स्टिच्युट फर इन्टरनेशनल स्टडीजमा वरिष्ठ अनुसन्धानकर्ता छिन्। सन्धिका प्रावधानलाई पूर्ण रूपमा बेवास्ता नगरिएको उनको भनाइ छ।

क्रेमलिनमा गरिएको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल प्रदर्शन।
‘रूसले नयाँ स्टार्ट सन्धि लागू गर्न रोकेको छ। अर्थात्, अब उसले आणविक आधारहरूको निरीक्षणलाई अनुमति दिइरहेको छैन। उसले अमेरिकासँग आफ्नो आणविक प्रतिरक्षाको स्थिति दैनिक आधारमा साझा गरिरहेको छैन।’
‘तर रुसले नयाँ स्टार्ट सन्धि नभएसम्म सन्धिका प्रावधानहरू अन्तर्गत हतियार नियन्त्रण कायम राख्ने बताएको छ। अर्थात्, उसले आणविक हतियारहरू जस्तै मिसाइल र लडाकु विमानहरू प्रयोग गर्ने प्रणालीहरूको संख्या ७०० मा सीमित राख्ने भएको छ। अमेरिका र रुस दुवैले आणविक हतियारको संख्या तत्कालका लागि सीमित राख्ने बताएका छन्। ’
रोज गोटेमोलरको विश्वास छ कि हालको अवस्था सन् १९९१ मा सोभियत संघको विघटन हुँदाको अवस्थासँग मिल्दोजुल्दो छ। ‘सन् १९९१ र १९९२ मा ठूलो संकट आयो। अनिश्चितता र अस्थिरता थियो। त्यतिबेला सोभियत संघसँग अहिलेको रुसभन्दा धेरै आणविक हतियारहरू थिए। त्यसपछि हामी चिन्तित थियौं कि ती हतियारहरू मध्ये केही हराउन सक्छ वा आतंकवादीहरूको हातमा पर्न सक्छ।’
‘यतिबेला रुससँग चारदेखि पाँच हजार आणविक हतियार छन्। त्यसबेला अमेरिका र सोभियत संघका नेताहरूबीच यी खतराहरूलाई कम गर्नका लागि सहयोगका दृश्यात्मक प्रयासहरू थिए जुन अहिले देखिँदैनन्।’
रूसमा परमाणु हतियारको पहिलो प्रयोगको बारेमा छलफल भइरहेको छ। तर रुसको आणविक नीतिमा कुनै परिवर्तन नहुने पश्चिमी देशहरूमा अपेक्षा गरिएको छ। तर, रूस भित्रको अस्थिरता चिन्ताको विषय हो। हालै रुसमा वाग्नर समूहको विद्रोह पनि भएको थियो। यस्ता घटनाले राष्ट्रपति पुटिनको विश्वसनीयतालाई चुनौती दिन सक्छ।
यस्तो अवस्थामा उनीहरुले सत्तामा आफ्नो पकड कायम राख्न रणनीतिक आणविक हतियार प्रयोग गर्ने सोच्न सक्छन्।
तर रोज गोटेमोलरले भने, ‘वाग्नर समूहको विद्रोहले पुटिनले रणनीतिक आणविक हतियार प्रयोग गर्ने सम्भावना बढाउँछ भनेर म भन्न सक्दिन। तर हामीले यो पनि याद गर्नुपर्दछ कि भ्लादिमिर पुटिनले तीन दिनमा दुई पटक भने कि रूस गृहयुद्धको छेउमा छ। गृहयुद्ध सुरु भएमा आणविक हतियार र आणविक सामग्रीको मर्मत र सुरक्षाको चिन्ता स्वाभाविक हो।’
तर के आणविक हतियार नियन्त्रणका लागि चीनसँग वार्ता गर्न सकिन्छ?
गोटेमोलर भन्छन् कि यो धेरै असम्भव छ किनभने चीन पारदर्शिता चाहँदैन। ऊ अमेरिकासँग आफ्नो आणविक र अन्य सैन्य क्षमताको जानकारी साझा गर्न चाहँदैनन् किनभने उसलाई अमेरिकाले आफ्नो कमजोरीको फाइदा उठाउन सक्छ भन्ने शंका छ।
दुनिया जहान, बीबीसी पडकास्टबाट लिइएको यो सामग्री विनयज्योति सापकोटाले भावानुवाद गरेका हुन्।



