काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक लाइभ गर्न प्रस्ताव गरेका छन्। सोमबार निजी निवास धुम्बाराहीमा भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले यस्तो प्रस्ताव राखेका हुन्।
बैठकमा सहभागी पूर्वमहामन्त्री शशांक कोइरालाका अनुसार देउवाले केन्द्रीय समिति बैठक पार्टीको आधिकारीक पेज, अनलाइन, टेलिभिजनलगायतबाट लाइभ गर्ने प्रस्ताव अघि सारेका हुन्। ‘भोलि लाइभ गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भयो । शेरबहादुरजीले नै प्रस्ताव राखेपछि छलफल गरेको हो,’ पूर्वमहामन्त्री कोइरालाले भने, ‘दुवै कुरा आएको छ। लाइभ गर्दा पनि हुन्छ भनिएको छ। अर्को कुरा लाइभ गर्दा ढुक्कले हृदयबाट बोल्न नसक्ने पनि कुरा आएको छ। भोलि गरौँ, हेरौँ भन्ने कुरा भयो । सायद भोलि सुरुमै लाइभ हुन्छ।’
कांग्रेस केन्द्रीय समितिको बैठक भोलि १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। केन्द्रीय समिति बैठकअघि कांग्रेसले पदाधिकारी बैठक बोलाउँदै आएको छ।


